बैंकिङ खबर । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुमारी बैंक लिमिटेडले ४८ करोड दुई लाख छ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१ दशमलव ९० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कुमारी बैंकले २७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
चुक्तापुँजी पाँच अर्ब ९६ करोड रुपैयाँ रहेको बैंकले २० प्रतिशत हकप्रद निष्काशन गरेर सात अर्ब १६ करोड रुपैयाँ पुर्याउँदैछ । एक वर्षको अवधिमा बैंकको चुक्तापुँजी १२१ प्रतिशतले बढेको हो । बैंकको जगेडाकोष पनि ५७.६४ प्रतिशतले बढेर दुई अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।
निक्षेपमा ४४ दशमलब ४० प्रतिशतले वृद्धि गरी ५७ अर्ब ६८ करोड ९ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ५१ दशमलव २९ प्रतिशतले वृद्धि गरी ५० अर्ब ९२ करोड ४४ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ४८ दशमलव ०४ प्रतिशतले बढेर ८२ करोड १६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा तीन दशमलव ८४ प्रतिशतले घटेर ३४ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा ३७ करोड ८६ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा २४ करोड रुपैयाँ राखेको छ । बैंकको निष्कृय कर्जा १ दशमलव ६१ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १४ दशमलव ४८ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १६ दशमलव ०९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १७ दशमलव ७१ गुणा, प्रतिसेयर नेटवर्थ उक सय ४३ दशमलव ४० रुपैयाँ र तरलता अनुपात २६ दशमलव ३५ प्रतिशत रहेको छ ।