बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष एवम् राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७३।०७४को वार्षिक प्रतिवेदन सहित विविध प्रस्तावहरु पारित गरेको छ ।
धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) (पहिलो संशोधन) नियमावली, २०७४ले मर्चेन्ट बैंकरलाई २०७५ असार मसान्तभित्र न्युनतम चुक्तापुँजी २० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरे बमोजिम साधारणसभाले चुक्तापुँजी २० करोड रुपैयाँ पुर्याउने र कार्यक्षेत्र विस्तार गर्ने निर्णय समेत गरेको छ ।
आरबिबिका प्रमुख कार्यकारी अधिकृत डा. रमेश कुमार भण्डारीले सरकारी निकायबाट संचालित यस मर्चेन्ट बैंकिङ कम्पनीले मर्चेन्ट बैंकिङ व्यवसायमा देशभरिका सर्वसाधारणको सहज पहुँचका लागि कम्पनी र राष्ट्रिय वाणिज्य बैंकबीच भएको समझदारी अनुरुप हाल राष्ट्रिय वाणिज्य बैंकका देशभरि छरिएर रहेका शाखाहरुबाट सहज रुपमा हितग्राही खाता खोल्ने सुविधा प्रदान गरिरहेको जानकारी दिए । त्यस्तै, कम्पनीले आफ्नो व्यवसायिक उत्तरदायित्व गहन रुपमा निर्वाह गरेको पनि उनले बताए । कम्पनीको १० करोड चुक्तापुँजीलाई वृद्धि गरेपश्चात् हाल भइरहेको मर्चेन्ट बैंकिङ कार्यहरुका साथै कम्पनीको कार्यक्षेत्र समेत विस्तार गरी निकट भविष्यमा नै लगानी व्यवस्थापन योजना र सामुहिक लगानी कोष योजनाको कारोबार संचालन गर्ने योजना बनाएको जानकारी सीईओ भण्डारीले दिए । साथमा, सार्वजनिक÷निजी साझेदारी, २०७२ बमोजिम हाल संचालनमा रहेका कम्पनीहरु तथा भविष्यमा स्थापना हुने ठूला तथा मध्यम आकारका औद्योगिक र व्यवसायिक आयोजनाहरु निर्माण तथा संचालन गर्न आवश्यक पर्ने पुँजीको व्यवस्थापनका साथै सरकारी तथा निजी क्षेत्रबाट संचालन हुने आयोजनाहरुको परामर्शदाताको कार्य गर्ने लक्ष्य कम्पनीे लिएको छ ।
साधारणसभामा कम्पनीका संचालकहरु विष्णुप्रसाद वैद्य, भुपेन्द्र पाण्डे, कविराज अधिकारी, केशव प्रसाद लम्साल, तथा राष्ट्रिय वाणिज्य बैंकका नायब महाप्रबन्धक सुशिल श्रेष्ठ, संस्थापक सेयरधनीका प्रतिनिधि नायब महाप्रबन्धक टेकराज जोशी, महालेखा परीक्षकको कार्यालयका लेखा परीक्षक प्रतिनिधि र कम्पनी रजिष्ट्रारको कार्यालयका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।