May 8th, 2016

एनसेलले तिर्यो १० अर्ब, बाँकी कर टेलियाबाट असुल्ने तयारी 

teliasonera-ncellनवराज कुंवर / चौतर्फी दबाबपछि दूरसञ्चार सेवा प्रदायक एनसेलले अग्रिम कर भुक्तानी (टीडीएस)बापतको ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार पाँच सय रुपैयाँ आइतबार सरकारलाई बुझाएको छ । बिक्रेता टेलियासोनेराले पुँजीगत लाभकर नतिरि भागेपछि एनसेलको स्वामित्व लिएको मलेसियन कम्पनी एक्जियटाले पुँजीगत लाभकर वापतको रकम सरकारलाई बुझाएको हो । कर दाखिलाका लागि एनसेलले बित्तीय स्रोतको व्यवस्थापन सुरु गर्दै राजस्व दाखिला गर्न शुक्रबार नै आंशिक रकम एभरेष्ट बैंकमा सारेको थियो । सोही रकम आइतबार सरकारी कोषमा बुझाएको हो । अग्रिम कर कट्टी गरी उक्त रकम तिरेको एनसेलले सो रकम १५ प्रतिशत भएको दाबी गरेको छ । बाँकी १० प्रतिशत बिक्रेता टेलिया सोनेराबाट असुल गराउने तयारी रहेको बताईएको छ ।

स्वीडेनमा मुख्य कार्यालय रहेको टेलिया कम्पनी र नेदरल्याण्ड्सको एसईए टेलिकमसँग रहेको एनसेलको ८० प्रतिशत स्वामित्व मलेसियाको एक्जियटाले १ अर्ब ३६ करोड ५१ लाख डलर (१ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी)मा किनेको थियो । नेपालका लागि एनसेल खरीदविक्री हालसम्मकै ठूलो व्यावसायिक कारोबार हो । एनसेलमा रिनोल्ड होल्डिङमार्फत स्वीडेनको कम्पनी टेलियासोनेराको ६० दशमलव ४ प्रतिशत र काजकस्तानको कम्पनी भाइजरको १९.६ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

एनसेल कम्पनी बेचेको टेलियाले एनसेलमा कम्पनीको शेयर विक्री गर्दा नेपालमा कर तिर्नु नपर्ने जिकिर गर्दै कर प्रशासनसँग कर उन्मुक्तिको माग गर्दै आएको थियो । सरकारकै उच्च अधिकारीदेखि कर कार्यालयसम्मका अधिकारीहरु पनि कर उन्मुक्ति दिन सकारात्मक देखिएको कुरा सार्वजानिक भएपछि चौतर्फी आलोचना भएको थियो । तर फेरि कर कार्यालय एनसेललाई कर उन्मुक्ति नदिने निर्णयमा पुगेपछि एक्जियटा आफै कर तिर्न बाध्य भएको हो । सरकारी अधिकारीले आइतबारसम्म तिर्नुपर्ने करको मूल्यांकनसहित विवरण दाखिल नगरे सरकारले नै कर मूल्यांकन सुरु गर्ने बताउँदै आएका थिए । आइतबारसम्म कुनै जानकारी नगरे आयकर ऐन २०५८ बमोजिम सरकारले नै मूल्यांकनसहित कर रकम तोकेर तिर्न पत्राचार गर्ने जनाएपछि एक्जियटाले कर तिरेको हो । 

 २० प्रतिशत सेयर सुनिभेरा क्यापिटलकी एकल लगानीकर्ता भावनासिंह श्रेष्ठलाई बिक्री गरेका निरजगोविन्द श्रेष्ठले लाभकरवापत दुई अर्ब ८३ करोड रुपैयाँ कर यसअघि नै बुझाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]