एनसेलले सरकारलाई पुँजीगत लाभकरवापत झन्डै १० अर्ब बुझाएको छ । कम्पनिले आइतबार ९ अर्ब ९६ करोड रुपैयाँ बुझाएको हो । कर दाखिलाका लागि एनसेलले वित्तीय स्रोतको व्यवस्थापन सुरु गर्दै शुक्रबार केही रकम राजस्व दाखिला गर्ने एभरेष्ट बैंकमा सारेको थियो । यही रकम आइतबार सरकारी कोषमा बुझाएको हो । कारोबारमा पुँजीगत लाभकर तिर्ने दायित्व बिक्रेता (टेलियोसोनेरा)को भए पनि आफू जिम्मेवार कम्पनी भएकाले कर तिरेको एक्जियटाले जनाएको छ ।
स्वीडेनमा मुख्य कार्यालय रहेको टेलियासोनेरा (हाल टेलिया कम्पनी नामाकरण गरिएको) तथा नेदरल्यान्ड्सको एसइए टेलिकमसँग एनसेलको ८० प्रतिशत स्वामित्व मलेसियाको एक्जियटाले १ अर्ब ३६ करोड ५१ लाख डलरमा खरिद गरेको थियो । यो कारोबारमा एनसेलले आइतबारसम्म खरिदको आय विवरण तथा १५ प्रतिशत स्रोतमा कर कट्टी गरेर कर कार्यालयलाई बुझाउनु पर्ने दायित्व थियो ।
एनसेल कम्पनी बेचेको टेलियाले एनसेलमा कम्पनीको शेयर विक्री गर्दा नेपालमा कर तिर्नु नपर्ने जिकिर गर्दै कर प्रशासनसँग कर उन्मुक्तिको माग गर्दै आएको थियो । सरकारकै उच्च अधिकारीदेखि कर कार्यालयसम्मका अधिकारीहरु पनि कर उन्मुक्ति दिन सकारात्मक देखिएको कुरा सार्वजानिक भएपछि चौतर्फी आलोचना भएको थियो । तर फेरि कर कार्यालय एनसेललाई कर उन्मुक्ति नदिने निर्णयमा पुगेपछि एक्जियटा आफँै कर तिर्न बाध्य भएको हो ।
यसअघि २० प्रतिशत सेयर सुनिभेरा क्यापिटलकी एकल लगानीकर्ता भावनासिंह श्रेष्ठलाई बिक्री गरेका निरजगोविन्द श्रेष्ठले लाभकरवापत २ अर्व ८३ करोड रुपैयाँ कर बुझाइसकेका छन् ।