Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

टेलिया भागेपछि एक्जियटामाथि दबाब, पुँजीगत लाभकर तिर्ने संकेत 

admin २०७३ बैशाख २६ गते
सेयर:

ncellचौतर्फी दबाबपछि दूरसञ्चार सेवा प्रदायक एनसेलले पुँजीगत लाभकर तिर्ने संकेत गरेको छ । बिक्रेता टेलियासोनेराले पुँजीगत लाभकर तिर्ने छाँट नदेखाएपछि एनसेलको स्वामित्व लिएको मलेसियन कम्पनी एक्जियटाले कर तिर्ने संकेत गरेको हो । एक्जियटाले कारोबारमा पुँजीगत लाभकर तिर्ने दायित्व बिक्रेता (टेलियोसोनेरा)को भए पनि आफू जिम्मेवार कम्पनी भएकाले कर तिर्ने जनाएको छ । अग्रिम कर भुक्तानी (टीडीएस)बापतको रकम आइतबार (आज) बुझाउने तयारी एनसेलले गरेको छ । नेपालमा व्यवसाय गरी कमाएको पूँजीगत लाभमा नेपालमै कर लाग्ने सम्बन्धित निकाय (ठूला कर कार्यालय)बाट लिखित जानकारी आएपछि एनसेलले आइतवार (आज) पूँजीगत लाभकरबापतको १५ प्रतिशत रकम बुझाउने तयारी गरेको हो ।

एनसेल कम्पनी बेचेको टेलियाले एनसेलमा कम्पनीको शेयर विक्री गर्दा नेपालमा कर तिर्नु नपर्ने जिकिर गर्दै कर प्रशासनसँग कर उन्मुक्तिको माग गर्दै आएको थियो । सरकारकै उच्च अधिकारीदेखि कर कार्यालयसम्मका अधिकारीहरु पनि कर उन्मुक्ति दिन सकारात्मक देखिएको कुरा सार्वजानिक भएपछि चौतर्फी आलोचना भएको थियो । तर फेरि कर कार्यालय एनसेललाई कर उन्मुक्ति नदिने निर्णयमा पुगेपछि एक्जियटा आफै कर तिर्न बाध्य भएको हो । 

एक्जियटाबाट एनसेलको नयाँ प्रबन्ध निर्देशक नियुक्त भएका सिमोन परकिन्सले नेपाल र नेपालीको हितको लागि काम गर्ने भन्दै कर तिर्न तयार भएको बताएका छन् । एनसेलले पुँजीगत लाभकर तिर्नलाई टेलियासोनेराको नाफा र वासलात उपलब्ध नभएकाले एनसेलको नेपालभित्रको कारोबारको आधारमा पुँजीगत लाभकरको हिसाब गर्ने जनाएको छ । एनसेलले आफ्नो हिसाबसहितको कारोबार सरकारलाई बुझाउने छ । एनसेलले दाखिल गरेको कर हिसाबमा चित्त नबुझे सरकारले आफैं र्यान्डम’ हिसाब गरेर कर तिर्न लगाउने अधिकारीहरूले बताएका छन् । सरकारी अधिकारीले आइतबारसम्म तिर्नुपर्ने करको मूल्यांकनसहित विवरण दाखिल नगरे सरकारले नै कर मूल्यांकन सुरु गर्ने बताउँदै आएका छन् । आइतबारसम्म कुनै जानकारी नगरे आयकर ऐन २०५८ बमोजिम सरकारले नै मूल्यांकनसहित कर रकम तोकेर तिर्न पत्राचार गर्ने जनाएपछि एक्जियटाले कर तिर्ने संकेत देखाएको हो । सरकारले एनसेल बिक्रीको अग्रिम कर दाखिला गर्ने समय आइतरबारसम्म तोकेको छ । शनिबारसम्म समयावधि भए पनि उक्त दिन बिदा भएकाले आइतबारलाई अन्तिम दिन तोकिएको हो ।

स्वीडेनमा मुख्य कार्यालय रहेको टेलिया कम्पनी र नेदरल्याण्ड्सको एसईए टेलिकमसँग रहेको एनसेलको ८० प्रतिशत स्वामित्व मलेसियाको एक्जियटाले १ अर्ब ३६ करोड ५१ लाख डलर (१ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी)मा किनेको थियो । नेपालका लागि एनसेल खरीदविक्री हालसम्मकै ठूलो व्यावसायिक कारोबार हो । एनसेलमा रिनोल्ड होल्डिङमार्फत स्वीडेनको कम्पनी टेलियासोनेराको ६०.४ प्रतिशत र कजाखस्तानको कम्पनी भाइजरको १९.६ प्रतिशत शेयर स्वामित्व रहेको छ । विदेशी लगानीका रूपमा रहेको यो ८० प्रतिशत शेयर स्वामित्व १ खर्ब ३६ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीमा मलेसियन कम्पनी एक्जियटालाई विक्री गरिएको छ । एनसेलमा २० प्रतिशत स्वदेशी र बाँकी ८० प्रतिशत विदेशी लगानी रहेको छ । २० प्रतिशत शेयर स्वामित्व नेपाली लगानीकर्ता नीरजगोविन्द श्रेष्ठले एक्जियटाका लागि नेपाली साझेदार रहेकी भावना सिंहलाई विक्री गरेका छन् । यसअघि सार्वजनिक भएअनुसार सो २० प्रतिशत शेयर ४ अर्ब ८० करोड रुपैयाँमा खरीदविक्री गर्ने बताइएको थियो । उक्त कारोबारबाट सरकारले २ अर्ब ८३ करोड १५ हजार रुपैँया राजस्व प्राप्त गरिसकेको छ ।

यसैबीच एनसेलले शुक्रबारबाटै कर तिर्ने प्रक्रिया सुरु गरेको बताइएको छ । कर तिर्न चौतर्फी दबाब बढ्दै जाने र बिक्रेता कम्पनी टेलियोसोनेराको नतिर्ने अडानले एनसेल अप्ठेरोमा परेको छ । यही समस्या समाधान गर्न उसले आफैं पहल गर्न थालेको हो । पुँजीगत लाभकर तिर्नुपर्ने मुख्य दायित्व रहेको टेलियोसोनेराले भने निरन्तर कर नतिर्ने बताउँदै आएको छ । उसले आन्तरिक राजस्व विभाग अन्तर्गतको ठूला करदाता कार्यालयबाट पठाएको पहिलो र दोस्रो पत्रको जवाफमा नेपालमा कर तिर्न नपर्ने बताएको हो । टेलियाले पहिलो विज्ञप्तिमा एक्जियटासँग कारोबार सम्झौता हुँदा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेको र स्थानीय सरोकारवालासँग छलफल गरेको समेत दाबी गरेको थियो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।