तिनाउ विकास बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकले निर्धारण गरेको न्युनतम चुक्तापुँजी पुर्याएको छ । राष्ट्र बैंकले तीन जिल्ला कार्यक्षेत्र भएका विकास बैंकलाई ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउने निर्देशन दिएको थियो । बैंकले गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर जारी गरेर चुक्तापुँजी ५० करोड ६९ लाख ३४ हजार नौ सय १४ रुपैयाँ सात पैसा पुर्याएको छ ।
बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउले शनिबार ११औँ वार्षिक साधारणसभा गरी प्रस्तावित बोनस सेयर पारित गरेसँगै बैंकको चुक्तापुँजी ५० करोड नाघेको छ । बैंक संचालक समितिले प्रस्ताव गरेबमोजिम साधारणसभाले ४६ करोड आठ लाख ४९ हजार नौ सय २१ रुपैयाँ ८८ पैसाको १० प्रतिशतले हुने चार करोड ६० लाख ८४ हजार नौ सय ९२ रुपैयाँ १९ पैसा बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथमा पाँच प्रतिशत नगद लाभांश पनि दिने भएको छ ।
साधारणसभामा बैंकका अध्यक्ष राजेन्द्र प्रसाद वझाले सञ्चालक समितिको तर्फबाट आ.व. २०७३।७४ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा आ.व. २०७३।७४ को लेखा परीक्षण प्रतिवेदन, २०७४ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरणको वारेमा छलफल भएको थियो ।
रुपन्देही, नवलपरासी र चितवन गरी तीन जिल्ला कार्यक्षेत्र भएको यस बैंकले केन्द्रीय कार्यालयसहित १५ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । साथमा, ग्राहकलाई एटिएम सेवा, रेमिट्यान्स सेवा, लकर सुविधा, कूनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने सुविधा, विहानी काउन्टर, एसएमएस बैंकिङ, नेपाल टेलिकमको पीएसटीएन, एडीएसएल, प्रिपेड तथा पोष्टपेड मोबाइलको बिल भूक्तानी, आईपिएल, आस्वा जस्ता सेवा प्रदान गर्दै आईरहेको छ ।