सनराइज बैंक लिमिटेडले आफ्नो १७ औँ शाखारहित बैंकिङ्ग सेवा सप्तरी जिल्लाको छिन्नमस्ता गाँउपालिका वडा नं. ३, छिन्नमस्ता भगवतीमा शुरू गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन प्रदेश नं. २(ख) का प्रदेशसभा सदस्य शैलेन्द्र प्रसाद शाहले एक समारोहका बीच गरे । अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि विद्यानन्द चौधरीलाई पोइन्ट अफ सेल मेसिन श्री शैलेन्द्र प्रसाद शाह र बैंकको राजविराज शाखाका प्रवन्धक रोहित कुमार महाशेठले संयुक्त रुपमा हस्तान्तरण गरे । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यो सँगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या १७ पुगेको छ । बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको छ । साथै बैंकको उक्त शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत छिन्नमस्ता भगवती मन्दिरमा २० के.जी. पित्तलको घन्टी प्रदान गर्यो ।


