नेपाल बैंक लिमिटेडले रुकुम जिल्लाको रुकुमकोटमा बैंकिङ सेवा आरम्भ गरेको छ । बैंकको १३४औँ शाखाको रुपमा पुनःस्थापित रुकुमकोट शाखाको कारोबारको शुभारम्भ रुकुमका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटा र जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र वहादुर वलीले संयुक्त रुपमा गरे ।
सशस्त्र द्वन्द्वको कारण वि.सं. २०५६ चैत ३ गते सो स्थानमा शाखा बन्द गरी मुसिकोट शाखामा गाभिएको थियो । उक्त शाखाको कारोबार शुभारम्भका अवसरमा स्थानीय ग्राहकहरु, पुनःस्थापित शाखाका प्रवन्धक लोकेन्द्र सिंह राठौर लगायतको उपस्थिति थियो ।
नेपाल सरकारको ६२.५५ प्रतिशत सर्वसाधारणको ३७.४५ प्रतिशत सेयर रहेको नेपाल बैंकको चुक्ता पुँजी आठ अर्ब चार करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा चार अर्ब ७६ करोड रुपैयाँ राखेको बैंकको पुँजी पर्याप्तता अनुपात १६.५९ र खराब कर्जा ३.४२ प्रतिशत रहेको छ ।
छिटै २५ स्थानमा शाखा विस्तार गर्दै
देशका हिमाल पहाड तराईमा फैलिएका १३४ शाखाको कार्यसञ्जालमार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा पुर्याईरहेको नेपाल बैंकले थप २५ स्थानमा छिटै शाखाहरु स्थापना गर्दैछ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ०७४ असोजसम्म ९३ अर्ब निक्षेप संकलन गरी ७४ अर्ब कर्जा प्रवाह गरेको यस बैकले नेपालका वाणिज्य बैकहरुमध्ये सर्वाधिक ९७ करोड रुपैयाँ खुद मुनाफा हासिल गरेको छ ।
नेपालको बैंकिङ इतिहासमा अग्रणी बैंकको रुपमा रहेको नेपाल बैंकले हाल बजारमा उपलव्ध अत्याधुनिक प्रविधि तथा उपकरणहरुद्वारा संचालित एटिएम डेविट कार्ड एनि ब्रान्च बैंकिङ सेवा, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ, वील भुक्तानी सेवा सार्वजनिक सवारीमा इ टिकेटिंग लगायतका आधुनिक बैंकिङ सेवाहरु समेत उपलव्ध गराईरहेको छ ।



