बैंकिङ खबर । अदालतले बाटो खोलिदिएपछि सनराइज बैंक लिमिटेडले साधारणसभाको मिति तय गरेको छ । बैंकले आगामी पुस ३ गते अमृतभोग क्याटरर्स, कालिकास्थानमा दशौँ वार्षिक साधारणसभा गर्ने भएको छ ।
उच्च अदालत पाटनले साधरणसभा स्थगित गर्न जारी गरेको आदेश खारेज गरी पाउँ भनि बैंकले दायर गरेको निवेदन उपर सुनुवाई गर्दै अदालतले साधारणसभा गर्ने बाटो खोलिदिएको हो । सञ्चालक चयनको विवाद अदालतसम्म पुगे पछि बैंकले यसअधि गत कात्तिक ३० बोलाएको साधारणसभा उच्च अदालतकै कात्तिक १९ गतेको आदेशबाट रोकिएको थियो । बैंकले कात्तिक १९ गते भएको आदेश खारेज गरी पाउँ भनि अदालतमा कात्तिक २७ गते निवेदन दायर गरेको थियो । सो निवेदन उपर सुनुवाई गर्दै अदालतको संयुक्त इजलासबाट मंसिर ७ गते पूर्ववत अन्तरिम आदेश खारेज गरिरहनु देखिन आएन भन्ने आदेशपछि बैंकले पुष ३ गते साधारण सभा गर्न लागेको हो ।
साधारणसभा गर्नका लागि अदालतले बैंकलाई केही शर्त तोकेको छ । अदालतले संस्थापक सेयरधनीको समूहबाट संचालक निर्वाचन गर्ने विषयलाई स्थगित गरी अन्य प्रस्ताव लिएर साधारणसभा सम्पन्न गर्न भनेको छ । अब, बैंकको साधारणसभाले १५ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
हाल सनराइज बैंकको चुक्तापुँजी सात अर्ब आठ करोड ९१ लाख ७९ हजार रुपैयाँ रहेको छ । उक्त चुक्तापुँजीको १५ प्रतिशतले हुने एक अर्ब छ करोड ३३ लाख ७६ हजार आठ सय ५० रुपैयाँ बराबरको बोनस सेयर जारी गरेपछि सनराइज बैंकको चुक्तापुँजी आठ अर्ब १५ करोड २५ लाख ५५ हजार आठ सय ५० रुपैयाँ पुग्नेछ ।


