Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एक महिनामा १५ शाखा विस्तार गर्यो एनआईसी एशिया बैंकले

२०७४ मंसिर ८ गते

बैंकिङ खबर । बजार विस्तारलाई प्राथमिकतामा राखेर अघि बढिरहेको एनआईसी एशिया बैंक लिमिटेडले शाखा विस्तारलाई तीव्र पारेको छ । पछिल्लो एक महिनाभित्रमा मात्रै बैंकले १५ वटा शाखा विस्तार गरिसकेको छ । 

कहाँकहाँ खुले नयाँ शाखा ?
एनआईसी एशिया बैंकले मोरङको पथरी शनिश्चरे नगरपालिका १ स्थित जनआन्दोलन चोकमा कात्तिक १५ गतदेखि नयाँ शाखा स्थापना गरी संचालनमा ल्यायो । त्यस्तै, कात्तिक १७ गते भोजपुर न.पा. वडा नं. ०७, चेङ्गवेनी चोकमा नयाँ शाखा विस्तार गर्यो । कात्तिक २० गते झापाको गौरादह नगरपालिकावडा नं. ०३ र सुनसरीको ईटहरी उप– महानगरपालिका वडा नं २०, तरहरामा शाखा विस्तार गरेको बैंकले कात्तिक २१ गतेदेखि कैलालीको जोशीपुर गाउँपालिकावडा नं. ०२ र जाजरकोटको भेरी नगरपालिका वडा नं ०४ मा नयाँ शाखाहरु स्थापना गरी संचालनमा ल्यायो । कात्तिक २३ गते एनआईसी एशियाको नयाँ शाखा रुकुम जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ०५, बागबजारमा खुल्यो भने कात्तिक २४ गते बैंकको नयाँ शाखाहरु दार्चुलाको महाकाली नगरपालिका वडा नं. ०४ र ओखरढुंगाको सिद्घिचरण नगरपालिका वडा नं १२ मा संचालनमा आए । त्यस्तै, कात्तिक २८ गते बैंकले प्युठान नगरपालिका वडा नं. ०४, जुम्रीमा नयाँ शाखा विस्तार गर्यो । यसबाहेक, यही अवधिमा जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ०५, महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ०१, बाँकेस्थित खजुरा गाउँपालिका वडा नं. ०३, बर्दिया नगरपालिका वडा नं ६, मगरागडी र मोरङस्थित कानेपोखरी गाउँपालिका वडा नं ६, रमाईलो चोकमा पनि एनआईसी एशिया बैंकले नयाँ शाखाहरु संचालन गर्यो ।

सयभन्दा बढी शाखा उपत्यकाबाहिर
बैंकले हाल ६ लाखभन्दा बढी निक्षेप ग्राहक, २८ हजारभन्दा बढी कर्जा ग्राहक ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ्ग ग्राहकहरुलाई देशभर रहेका आफ्ना १२८ शाखा एवं विस्तारित काउन्टर मार्फत् उच्चस्तरिय र ग्राहक केन्द्रित सेवा प्रदान गर्दै आइरहेको छ । बैंकका कुल शाखामध्ये, ३२ वटा शाखा उपत्यकाभित्र रहेका छन् भने बाँकी शाखा उपत्यकाबाहिर रहेका छन् । जुम्ला, रुकुम, जाजरकोट जस्ता अति विकट मानिएका जिल्लाहरुमा समेत एनआईसी एशिया बैंकले शाखा स्थापना गरी बैंकिङ सेवा प्रदान गरिरहेको छ । चालु आर्थिक वर्षभित्रमा नै बैंकको शाखा संख्या दुई सय र एटीएम संख्या तीन सय पुर्याउने योजना बैंकको छ । त्यस्तै, शाखारहित बैंकिङ सेवालाई समेत विस्तार गरेर गाउँगाउँमा बैंकिङ पहुँच पुर्याउने रणनीति बैंकले लिएको छ । 

अन्य आर्थिक क्षेत्रमा पनि योगदान गर्ने लक्ष्य
एनआईसी एसिया बैंकले बैंकिङबाहेक अर्थतन्त्रका अन्य क्षेत्रमा समेत योगदान पुर्याउने लक्ष्य लिएको छ । केही महिनाअघि मात्र एनआईसी क्यापिटल सञ्चालनमा ल्याएको बैंकले निकट भविष्यमा फूलफेजमा अनलाईनबाट आस्वा एकाउन्ट र डिपोजिट एकाउन्ट खोल्न सकिने गरी डिजिटल बैकिङ सेवा दिन लागेको छ ।

शाखा सञ्जाल, एटिएम संख्या, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक मानिने एनआईसी एशिया बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।