२०७४ मंसिर ३ गते

महोत्तरीको रामगोपालपूरमा ज्योति विकास बैंकको नयाँ शाखा

ज्योति विकास बैंक लिमिटेडले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नं. ५ मा नयाँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ । शुक्रबार रामगोपालपुर नगरपालिकाका मेयर असोक कुमार मण्डल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे । उक्त शाखाले स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतलाई केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने बताइएको छ ।

ज्योति विकास बैंकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने बैंकका अध्यक्ष खड्काले बताए । बैंकले मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवाभाव समेतलाई जोड दिँदै आएको समेत उनले जानकारी दिए । 

कार्यक्रममा ज्योति विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले बैंकको वित्तीय अवस्था, बैंकले प्रदान गर्ने सेवा सुविधा लगायत विविध विषयमा जानकारी गराए । 

हाल ज्योति विकास बैंकले ४६ वटा शाखा कार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आस्वा लगायतका सम्पुर्ण आधुनिक बैंकिङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गराउँदै आएको छ । 

हालसम्म ज्योति विकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात ज्योति विकास बैंकको चुक्तापूँजी दुई अर्ब ३७ करोड पुगेको छ । गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकलाई तोकेको चुक्तापूँजी पुर्याउने बैंकको योजना छ ।