बैंकिङ खबर । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ दशमलव ५५ प्रतिशत बढी नाफा कमाएके हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एनसीसीले १२ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
चार अर्ब ६७ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा दुई अर्ब ७२ करोड ४६ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ६१ अर्ब ३८ करोड १२ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ९२ प्रतिशतले वृद्धि गरी ४८ अर्ब ८७ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी १२ दशमलव ३९ प्रतिशतले घटेर २१ करोड २९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ९२ दशमलव ९४ प्रतिशतले घटेर एक करोड २५ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा २३ करोड १४ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा तीन करोड ५७ लाख रुपैयाँ राखेको छ ।
एनसीसी बैंकको प्रतिसेयर आम्दानी १४ दशमलव ०७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय ५८ दशमलव २३ रुपैयाँ, तरलता अनुपात २८ दशमलव ८५ प्रतिशत र मूल्य आम्दानी अनुपात २७ दशमलव २२ गुणा रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा चार दशमलव २९ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति ११ दशमलव ६८ प्रतिशत रहेको छ ।

