सियोल, दक्षिण कोरिया । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजीबि नेपालले कोरियामा जीएमईले संचालनमा ल्याएको पहिलो शाखाको अवलोकन भ्रमण गर्दै सफलताको शुभकामना ब्यक्त गरेका छन् । जीएमईका प्रमुख कार्यकारी अधिकृत जोन सुंगले उक्त अवसरमा गर्भनर डा. नेपाललाई स्वागत गरेका थिए । डोङ्गडमुनस्थित उक्त शाखाको भ्रमणको क्रममा गर्भनर डा. नेपालले नेपाल पैसा पठाउने प्रक्रियाको बारेमा समेत जानकारी लिएका थिए ।
अवलोकनका क्रममा शाखामा उपस्थित सेवाग्राहीहरूसँग अन्तरक्रिया गर्दै गर्भनर डा. नेपालले वैदेशिक रोजगारीको क्रममा कोरियामा रहेका नेपालीहरुको रेमिट्यान्स औपचारिक माध्यमबाट नेपाल पठाउन जीएमईले गरेको प्रयासको उच्च प्रशंसा गरे । साथमा कोरियामा रहेका हरेक नेपालीहरुलाई औपचारिक माध्यमबाट नै रेमिट्यान्स पठाउन अनुरोध समेत गरे ।
यसै सन्दर्भमा कोरियास्थित नेपाली दुतावासमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गर्भनर डा. नेपालले कोरियाबाट अबैधानिक च्यानलमार्फत नेपाल जाने पैसा रोक्नु नेपाल राष्ट्र बैंकको मुख्य प्राथमिकता रहेको गभर्नर डा. नेपालले बताए । नेपाल सरकारले इपीएसमार्फत कोरिया सरकारसँग सम्झौता गरी वैदेशिक रोजगारीको राम्रो अवसर प्रदान गरेको भन्दै उनले त्यसको कदरका लागि बैधानिक माध्यमबाट रेमिट्यान्स पठाएर सहयोग गर्न आग्रह गरे । वैदेशिक रोजगारीको शिलशिलामा कोरियालगायत अन्य मुलुकमा रहेका नेपालीहरुले औपचारिक माध्यमबाट पैसा नपठाए अर्को पटक विदेश जानको लागि रोक लगाउन सक्नेसम्मको जानकारी उनले गराए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै कोरियाका लागि नेपालका राजदुत अर्जुन जंगबहादुर सिंहले कोरियाबाट हुने हुण्डी कारोबारलाई निरुत्साहित गर्न दुतावास र नेपाल राष्ट्र बैंकले कडा कदम चाल्न त्यही अनुरुपको नियम ल्याउँदै गरेको जानकारी दिए ।
कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सन् २०१३ देखि ग्लोबल आइएमई बैंक र कोरियास्थित वाणिज्य बैंकहरुको सहकार्यमा रेमिट्यान्स सेवा दिँदै आएको बताए । शनिबार र आइतवार बैंकका सेवा बन्द हुने र अन्य प्रक्रियागत कारणले सोचे जस्तो रेमिट्यान्स भित्रिन नसकेको भन्दै अबदेखि जीएमईका सबै शाखाहरूबाट हप्ताका सातै दिन छिटो छरितो रेमिट्यान्स सेवा दिन सक्ने हुँदा जीएमईले कोरियाबाट नेपाल रेमिटेन्स भित्रयाउन उल्लेख्य योगदान पुर्याउने उनको विश्वास छ ।
एकपटक कोरिया बसेको व्यक्ति पुनः कोरिया फर्किन चाहेमा वैधानिक माध्यमबाट मात्र रेमिट्यान्स पठाएको हो भन्ने प्रमाण स्वरूप जीएमईको स्टेटमेन्ट प्रिन्ट दिने व्यवस्था समेत मिलाइएको जानकारी कार्यक्रममा दिईयो । जीएमईको सेवाजीएमईका सबै शाखा सहित अनलाइनबाट समेत लिन सक्ने व्यवस्था मिलाईएको छ । यसरी पठाएको रकम नेपालस्थित ग्लोबल आइएमई बैंकका सबै शाखाहरु लगायत सात हजारभन्दा बढी एजेन्ट आउटलेटबाट छिटो, छरितो र सुरक्षित ढंगले भुक्तानी लिन सकिनुका साथै जुनसुकै बैंकको खातामा पनि जम्मा गर्न सकिन्छ ।
जीएमईलाई गत अगष्ट २३ मा कोरियन सरकारले पहिलोपटक रेमिट्यान्स सेवा प्रदान गर्ने इजाजत प्रदान गरेको थियो । सोहि इजाजतअनुरुप जीएमईले आफ्नो सेवा सुरु गरिसकेको छ । जीएमईको स्थापनापछि कोरियाबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउन सहज उनले विश्वास लिइएको छ ।




