नेपाल राष्ट्र बैंकले नेपाललाई एन्टी मनि लाउन्डरिङ (एएमएल) काउन्टर फाइनान्सिङ अफ टेरोरिजम् (सिएफटी) कार्यक्रम कार्यान्वयनमा शसक्त राष्ट्र बनाउन सहयोग गरेको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रति आभार प्रकट गरेको छ । एएमएल/सिएफटी कार्यक्रममा नेपाल–आईएमएफ सहकार्य पूरा भएको ६ वर्ष पूगेको उपलक्ष्यमा सोमबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिबी नेपाल, डेपुटी गभर्नरद्धय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले एएमएल सिएफटी कार्यान्वयनमा कोषले पुर्याएको सहयोगप्रति आभार प्रकट गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले कठिन चुनौतिहरुमा पनि आईएमएफले कालो धनको बैध बनाउन नदिने अभियान एएमएल र वित्तीय अराजकता हटाउने अभियान सिएफटीको कार्यान्वयनमा आइएमएफले महत्वपूर्ण सहयोग गरेको भन्दै त्यसको सराहना गरेका थिए । उनले आगामी दिनमा पनि आईएमएफबाट यस्तै सहयोगको अपेक्षा गरेको बताए ।
कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले आगामी दिनमा आइएमएफको अहिलेको जस्तै भूमिकाको अपेक्षा गरेको बताए । अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठले एएमएल/सिएफटी कार्यक्रमको सारबारे प्रस्तुति दिए । कार्यक्रममा वित्तीय जानकारी एकाइका निर्देशक ऋषिकेश भट्टले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, कुट्नीतिक नियोग, नेपाल सरकार, नेपाल प्रहरी, विभिन्न बैंक आदिका साथै वित्तीय क्षेत्रमा कार्यरत नियामक निकाय र सम्बद्ध संस्थाका उच्च अधिकारीहरुको सहभागीता रहेको थियो ।