पोखरामा केन्द्रीय कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक स्थापनाको १० औँ बर्ष पूरा गरी ११ औँ बर्षमा प्रवेश गरेको छ । ११ औँ बर्ष प्रबेशको अवसरमा बैंकले पोखरा चिप्लेढुंगा स्थित प्रधान कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता तथा बैंकका सञ्चालक राजेन्द्र कुमार बाटाजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा १०१ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।
नियमित बैंकिङ्ग तथा वित्तिय सेवाका अलावा, यस बैंकले सामाजिक उत्तरदायित्व बहन गरि जिम्मेवार संस्थाको भुमिका निर्वाह गर्ने क्रममा विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आइरहेको बताइएको छ, ।
यसै त्र्रmममा कार्तिक ९ गते बिहिवार पोखरा, नारायणगढ र काठमाडौँमा प्रभातफेरी कार्यक्रमको आयोजना गरी सर्वसाधारणमा बैंकिंग सचेतना फैलाउने कार्यक्रम गरेको बताइएको छ । यसरी नै महानगरपालिकाहरुद्धारा आयोजित नियमित सरसफाइका कार्यक्रमहरुमा निरन्तर सहभागी भइरहेको र यसलाई आगामी दिनमा निरन्तरता दिइरहने प्रतिवद्धता बैंकले जनाएको छ ।
यस ओम डेभलपमेन्ट बैंक संग केएफडब्लु डेभलपमेन्ट बैंक जर्मनीले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको स्वीकृतीमा दिगो आर्थिक विकास कार्यक्रम अन्र्तगत कर्जा लगानी गर्नको लागि हालै सम्झौता गरेको छ ।
सम्झौतापत्रमा अर्थ मन्त्रालयको तर्फबाट सह–सचिब लाल बहादुर खत्री, नेपाल राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक उपेन्द्र पौडेल, ओमको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी र केएफडब्लु डेभलपमेन्ट बैंक को प्रतिनिधिले हस्ताक्षर गरेको बैकले जनाएको छ ।




