२०७४ कार्तिक ६ गते

सिटिजन्स बैंकको ६३औँ शाखा मैनापोखरीमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६३औं शाखा बर्दियाको बढैयाताल मैनापोखरीमा संचालनमा ल्याएको छ । सोमबार (कार्तिक ०६गते) यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरे । शाखा उद्घाटन समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त शाखाका इन्चार्ज  दिनेश कुमार ढुंगानाले यस क्षेत्रमा कृषि कर्जा, पशुपालन लगायतका क्षेत्रमा प्रशस्त लगानी गर्ने बैंकको उद्देश्य रहेको बताए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका ६३ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव तीन लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमक ानिक्षेप तथा कर्जा सुविधाहरुका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि बैंकले उपलब्ध गराउँदै आएको छ । 

उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंकले जनप्रिय माध्यमिक विद्यालय र श्री वागेश्वरी निम्न माध्यमिक विद्यालयलाई १÷१ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । बैंकका सहायक प्रमुखकार्यकारी अधिकृत बोधराज देवकोटा र बढैयाताल गाँउपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा उक्त सहयोग हस्तान्तरण गरे । 

मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा सहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमा नै बैंकले हुम्लाको सर्केगाड, झापाको हल्दिबारी, महोतरीको औरही र दांङको बंगलाचुलीमा थप शाखा संचालन गर्ने योजना अगाडी सारेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले बताए ।