नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र सेन्ट्रल फाइनान्स लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र सेन्ट्रल फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठले हस्ताक्षर गरे । सम्झौताअनुसार नेपाल क्लियरिङ्ग हाउसले फाइनान्सलाई अन्तरबैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि NCHL-IPS प्रणाली उपलब्ध गराएको छ ।
यस प्रणालीमार्फत कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्ण रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् ।
यस प्रणालीमा हालसम्म कम्पनीले ६९ बैंक तथा वित्तीय संस्थाहरुसंग प्रत्यक्ष सदस्यको रुपमा र अन्य ८ कम्पनीहरुसँग अप्रत्यक्ष अर्थात प्राविधिक सदस्यको रुपमा सम्झौता गरिसकेको छ ।


