नेपाल राष्ट्र बैंकले ल्याएको उत्पादनशील क्षेत्रमा लगानी बढाउने नीति कार्यान्वयनको चरणमा रहेका बेला बैंक तथा वित्तीय संस्थाको लगानी फेरि उत्पादनशीलभन्दा अनुत्पादक क्षेत्रमा बढि देखिएको छ । बैंक तथा वित्तीय क्षेत्रका लगानी उत्पादनशील क्षेत्रबाट विकर्षित हुनुमा निक्षेपको ब्याजदर घट्नुले मुख्य भूमिका खेलेको देखिन्छ । पछिल्लो समय धेरै लगानी घरजग्गा र सेयर बजारमा बढिरहेको छ । शेयर बजारलाई नै हेर्ने हो भने यसले हरेक दिन नयाँ रेकर्ड बनाईरहेको छ । उपत्यकामा घरजग्गाको कारोबार उचाईमा छ ।
बैंकिङ प्रणालीमा तरलता बढेसँगै सेयर र घरजग्गाको कारोबार बढेको बैंक तथा वित्तिय क्षेत्रका जानकारहरु बताउँछन् । पछिल्लो समय सिमेन्ट बानखहेक अन्य क्षेत्रमा लगानी नबढेर लगानीकर्ताले सहजै फाइदा हुने सेयर बजार र घरजग्गामा लगानी बढेको देखिन्छ ।
राष्ट्र बैंकको तथ्याङकले पनि पछिल्लो ५ वर्षमा एक करोडभन्दा बढीका आवासीय घरमा बैंक तथा वित्तीय संस्थाको कर्जा अत्यधिक बढेको देखाउँछ । आर्थिक वर्ष २०६८÷६९ को फागुन महिनासम्ममा एक करोडभन्दा तलको आवासीय घरकर्जामा ४७ अर्ब ३८ करोड कर्जा गएकोमा आर्थिक वर्ष २०७२÷७३ को फागुन मसान्तमा यो क्षेत्रमा बैंक संस्थाले १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका राष्ट्र बैंकको प्रतिवेदनमा छ ।
तर बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा रियलस्टेटमा भने बढेको छैन । अहिले रियलस्टेटमा ९७ अर्ब कर्जा गएको छ । जबकी ५ वर्ष अगाडि बैंक तथा वित्तीय संस्थाले रियलस्टेटमा ९४ अर्ब कर्जा प्रवाह गरेका थिए ।
यस्तै सेयर धितोमा राखेर दिइने कर्जा बढेर ३२ अर्ब ७० करोड पुगेको छ । ५ वर्ष अगाडि १० अर्ब ५२ करोड पुगेको थियो । बैंक तथा वित्तीय संस्थामा अहिले तरलता केही असहज भएपनि तत्कालै ब्याजदर बढ्ने सम्भावना देखिँदैन । यसले गर्दा आगामी दिनमा अझै घरजग्गा सेयरको कारोबार बढ्न सक्ने सम्भावनालाई देखाउँछ । तर, यसमा जोखिम पनि बढी हुने भएकोले बैंक तथा वित्तीय संस्था सजग हुन आवश्यक रहेको जानकारहरु बताउँछन् ।
राष्ट्र बैंकले २०६६ सालमा बैंक तथा वित्तीय संस्थाको अत्याधिक लगानी घरजग्गामा भएपछि त्यसमा सीमा तोकिदिएको थियो भने सेयर कर्जामा पनि कडाइ गरेको थियो । यसका कारण घरजग्गा व्यवसाय ओरालो लाग्यो भने सेयर बजार ओरालिने क्रममा पनि सुरु भयो । तर पछिल्लो ४ वर्षदेखि सेयर बजार र घरजग्गाको कारोबार बढ्न थालेको छ । काठमाडौं उपत्यकाको काँठ क्षेत्रमा जग्गाको कारोबारमा ह्वात्तै वृद्धि भएको छ । यस्तै अवस्था सेयर बजारमा पनि छ । घरजग्गा र सेयर बजारको कारोबार बढ्नु राम्रो भएपनि यसबाट समग्र अर्थतन्त्रले लाभ लिन नसक्ने र सीमित व्यक्तिले मात्र कमाउने भएकोले यसको कारोबार बढ्दैमा अर्थतन्त्रमा सुधार नआउने अर्थविदहरु बताउँछन् । घरजग्गा र सेयर बजारको हरेक दिनको नयाँ रेकर्डले पुनः अर्कोको संकट आउन सक्ने विश्लेषणहरु हुन थालिसकेको छ । बजारमा हरेक चार पाँचवर्षमा घरजग्गा र सेयर कारोबार बढ्ने र घट्ने गरेको इतिहास छ । अहिले मन्दीपछि घरजग्गा र सेयर कारोबार बढेको हुनाले अहिले यसमा भएको कारोबार अझै बढ्ने देखिन्छ ।