May 1st, 2016

चार सय युवालाई इजरायल पठाउँदै साना किसान बिकास बैंक

11208769_817904364951378_1539492179_n
नवराज कुँवर/ साना किसान बिकास बैंकले आगामी बर्षका लागि फेरि चार सय युवालाई आधुनिक कृषि तालीमका लागि इजरायल पठाउने भएको छ । तीन वर्षअघि नेपालका लागि इजरायली दूतावास, साना किसान विकास बैंक र साना किसान कृषि सहकारीको समन्वय तथा अर्थ र परराष्ट्र मन्त्रालयको सहमतिमा नेपालका साना किसान परिवारका युवाहरुलाई इजरायल पठाउन सुरु गरिएको थियो । 

 यसअघि पहिलो चरणमा दुई सय चार, दोस्रो चरणमा पाँच सय २५ र तेस्रो चरणमा चार सय २५ गरी ११ सयभन्दा बढी युवाले उक्त अवसर प्राप्त गरिसकेका बैंकले जनाएको छ । इजरायल सरकारको सहयोगमा तीन वर्षअघि सुरु भएको ’लर्न् एण्ड अर्न्’ कार्यक्रमअन्तर्गत चौथो चरणमा पर्सि मंगलबारबाट छनोट प्रक्रिया सुरु हुन लागेको हो । 

मुलुकलाई कृषि प्रधान मुलुक भनिएपनि कृषिमा औद्योगिकरण र व्यवसायिकता विकास नभएको भन्दै इजरायली कृषि प्रविधि सिकाउन उक्त कार्यक्रम सुरु गरिएको हो । संसारमै इजरायली कृषि प्रविधिलाई उत्कृष्ट मानिन्छ । इजरायलले चार प्रतिशत जनसंख्याले कृषिलाई पेसा बनाएर बाँकी रहेको जनसंख्याको लागि आवश्यक पर्ने खाद्यान्नको जोहो गर्नुको साथै कतिपय उत्पादन बाहिरी देशमा निर्यात गर्ने गरिरहेको छ । यो पटक ४० जिल्लाका साना किसान परिवारका युवाहरुलाई इजरायल लैजान पर्सि मंगलबार हेटौँडास्थित एक होटलमा छनौट कार्यक्रम निर्धारण गरिएको साना किसान विकास बैंकले जनाएको छ ।