२०७४ भाद्र २७ गते

डिवेञ्चर के हो ? कसरी हुन्छ कारोबार ?

तोकिएको दर र समयमा साँवा तथा ब्याज भुक्तानी गर्ने शर्तमा जारी गरिएको धितोपत्रलाई डिवेञ्चर भनिन्छ । यसको अंकित मूल्य साधारणतः १ हजार रुपैँया हुन्छ । डिवेञ्चरवालाहरुले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्धवार्षिक रुपमा ब्याज प्राप्त गर्दछन् । साधारण सेयर र अग्राधिकार सेयरमा लाभांश दिनु अघि नै डिवेञ्चरवालाहरुले ब्याज प्राप्त गर्दछन् । संगठित संस्था नोक्सानीमा गए पनि डिवेञ्चरवालाहरुले तोकिएको ब्याज प्राप्त गर्न कुनै वाधा पर्दैन । डिवेञ्चरवाला र संगठित संस्थाको सम्बन्ध साहु र ऋणीको जस्तो हुन्छ । यदि, कम्पनीले तोकिएको दर र समयमा ब्याज प्रदान गर्न असमर्थ भएमा डिवेञ्चरवालाहरुले कम्पनी खारेजीमा पठाउन कार्यवाही चालाउन सक्छन् । प्रायः जोखिम लिन नचाहने लगानीकर्ताहरु डिवेञ्चरमा लगानी गर्न रुचाउँछन् । डिवेञ्चरवालाहरुलाई कम्पनीको वार्षिक साधारण सभामा सहभागी हुने अवसर र मतदान अधिकार प्राप्त हुँदैन । डिवेञ्चरहरु सुरक्षित (कम्पनीको सम्पत्ति जमानत वा बन्धक राखी निष्काशन हुने) वा असुरक्षित, विमोच्य (निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने) वा अविमोच्य र परिवर्तनशिल (निश्चित समयावधि पछि साधारण सेयरमा परिवर्तन गर्न सकिने) वा अपरिवर्तनशील प्रकृतिका हुन्छन् ।