हरेक साता बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
महालक्ष्मी बैंकका सीईओद्धारा राजीनामा
महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले पदबाट राजिनामा दिए । सोमबार सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै भट्टराईले बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट आगामी कार्तिक १ गतेदेखि लागु हुने गरी राजिनामा दिएको बताएका छन् । १ बर्षको छोटो अवधिमा २ वटा मर्जर सफलापूर्वक सम्पन्न गरी नेपाल कै नम्बर १ विकास बैंक बनाउन सफल भएकोमा आफू खुसी रहेको भन्दै भट्टराईले सहयोग गर्ने सबैलाई फेसवुक स्टाटस मार्फत धन्यवाद समेत दिएका छन् ।
बैंकिङ ट्रेनिङ सुरु
मिडिया इन्टरनेशनलको आयोजनामा विहीबारदेखि बैंकिङ ट्रेनिङ सुरु भयो । एक सातासम्म चल्ने ट्रेनिङको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सहप्रवक्त राजेन्द्र पण्डितले गरेका थिए । कार्यक्रममा बोल्दै उनले बैंकमा जागीर खानका लागि सर्टिफिकेट मात्र नभएर वित्तीय ज्ञान पनि आवश्यक हुने बताएका थिए ।
एनआईसी एसिया बैंकको सेयर धितो कर्जा
एनआईसी एसिया बैंक लिमिटेडले पुनः सेयर धितो कर्जा सुरु गर्यो । सरल कर्जा प्रक्रिया, न्यूनतम कागजी आवश्यकता तथा २ कार्य्दिनमै कर्जा प्रवाह गर्ने व्यवस्था सहित बैंकले सोयर धितो कर्जा पुनः शुरु गरेको हो । बैंकको सम्पूर्ण १२० शाखाहरुबाट यो कर्जा उपलब्ध हुने बताइएको छ । यस कर्जा अन्तर्गत गाहकहरुले आफूसँग रहेको सेयर धितोमा राखी न्यूनतम रु २५ लाखदेखि अधिकतम रु १० करोडसम्म कर्जा उपभोग गर्न सक्ने छन् । नेपाल स्टक एक्सचेन्जमा सूचिकृत साधारण तथा संस्थापक सेयर धितो राखी सोयर धितो कर्जा उपलब्ध गराईने बैंकले जनाएको छ ।
अवैध सुन बरामद
काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गर्यो । पार्किङमा राखिएको सवारी साधनमा ठुलो मात्रामा सुन तस्करी भएको खबरका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मनोज अधिकारीलाई पक्राउ गरेको हो । आइतबार बेलुका पाएको सुचनाका आधारमा सोमबार बिहान २ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले बा १७ च ६४२७ नंको पार्किङ गरेर राखिएको गाडीबाट पक्राउ गरिएको जानकारी दिए । प्रहरीका अनुसार यसपटक इतिहासमै सबैभन्दा धेरै परिमाणमा सुन बरामद भएको हो । यसअघि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बरामद भएको थियो ।
एनएलजी इन्स्योरेन्सको सीईओमा कृष्णप्रसाद शर्मा
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णप्रसाद शर्मा नियुक्त भए । कम्पनीको संचालक समितिले शर्मालाई चार वर्षे कार्यकालका लागि नियुक्त गरेर अनुमतिका लागि बीमा समितिमा पठाएको छ । शर्मा राष्ट्रिय वाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् ।
अन्य
- लुम्बिनी बिकास बैंक लिमिटेडले शुक्रबारदेखि चितवन जिल्लाको ईच्छाकामना गाँउपालिका, वडा नं. ४, कुरिनटारमा आफ्नो ५५ औं शाखा कार्यालय संचालनमा ल्यायो ।
- एशियाली विकास बैंक (एडिबि) ले हिमालयन बैंक लिमिटेडलाई TFP Award 2017- Leading Partner Bank in Nepal प्रदान गर्यो ।
- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशको विभिन्न भागमा हालै गएको बाढी पिडीतहरुलाई सहयोग गर्ने उद्देश्यले एघार लाख रुपैयाँको आर्थिक सहयोग गर्यो ।
- ज्योति विकास बैंक लिमिटेडले विराटनगरको रङ्गेलीरोडमा रहेको शाखालाई साविकको स्थानबाट पश्चिमतर्फ करिब १०० मिटरको दुरीमा स्थानान्तरण गर्यो ।
- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६१औं शाखा नवलपरासीको भूमहीमा समुद्घाटन गर्यो ।
- लक्ष्मी बैंक लिमिटेड चरीकोट शाखाले भिमेश्वर न.पा. वडा नं. २ स्थित चम्पुजा हरियाली पार्कमा वृक्षारोपण गर्यो ।
- पाल्पा जिल्ला रिब्दीकोट गाउँपालिकामा कृषि विकास बैंक लिमिटेडले नयाँ शाखा विस्तार गर्यो ।
- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बोनस सेयर वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पायो ।