२०७४ भाद्र २२ गते

२५ प्रतिशत हकप्रद सेयर जारी गर्दै ‘गण्डकी विकास बैंक’, बोनस जारी गरेर पुँजी पुर्याउने

गण्डकी विकास बैंक लिमिटेडले २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । उक्त हकप्रद सेयर जारी गरेपछि दुई अर्ब ३० करोड रुपैयाँ चुक्तापुँजी पुग्ने र राष्ट्र बैंकले तोकेको चुक्तापुँजी बोनस सेयर जारी गरेर पुर्याउने बैंकले जनाएको छ । 

गण्डकी विकास बैंक राष्ट्रिय स्तरको विकास बैंक हो । नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरका विकास बैंकलाई दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन दिएको छ । आर्थिक वर्ष २०७३।७४ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले हाल कायम रहेको चुक्तापूँजीको २३ प्रतिशत सम्म वोनस सेयर वितरण गर्न सक्ने देखिन्छ ।

गण्डकी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा ८५ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गरेको थियो । असार मसान्तसम्ममा बैंकले १८ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ । 

गण्डकी विकास बैंकले केन्द्रीय कार्यालयसहित देशभरका ५३ वटा शाखा कार्यालयमार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, एटिएम, एसएमएस बैंकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा र रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । साथमा प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैंकिङ सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ । गण्डकीले न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा समेत दिँदै आइरहेको छ । 

बैंकले निकट भविष्यमा विर्तामोड, विराटनगर, काठमाडौँको सामाखुशी, र रुपन्देहीको अमुवा गरी चार वटा थप शाखा संचालनमा ल्याउने तयारी गरिरहेको बैंकका सीईओ रेशम बहादुर थापाले बताए ।