२०७४ भाद्र २१ गते

दशैंमा नयाँ नोट : कहाँबाट कसरी साट्ने ? हेर्नुस् सटहि काउन्टरहरु

दशैँका लागि नयाँ नोट भदौ २८ गतेदेखि पाइने भएको छ । निजी क्षेत्रका बैंकहरुलाई निश्चित रकम मात्रै सटहीका लागि उपलब्ध गराउने योजना बनाएको नेपाल राष्ट्र बैंकले यसपाली सरकारी स्वामित्वका बैंकहरुलाई पनि नोट सटहीमा सहभागी गराउने भएको छ । यसअघि राष्ट्र बैंकले काठमाडौंस्थित बैंकिङ कार्यालय र आफ्ना क्षेत्रीय कार्यालयहरुबाट नयाँ नोट सटही गर्ने गरेकोमा यसपाली सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने ब्यवस्था मिलाएको हो ।

नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस, न्यूरोड, बालाजु, पाटन, किर्तिपुर र भक्तपुरबाट सटही सुविधा पाइन्छ। राष्ट्र बाणिज्य बैंकको सिंहदरवार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्शाल शाखाबाट पनि सटही सुविधा लिन पाइने बताइएको छ । साथै कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट समेत नोट साट्न पाइनेछ । 

निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई भने सर्वसाधारणलाई नयाँ नोट वितरण गर्न राष्ट्र बैंकले साढे तीन करोडदेखि ११ करोड रुपैयाँसम्म उपलब्ध गराउने जनाएको छ । यसपाली ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिब्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकमै गएर साट्नेहरुले भने प्रति ब्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट पाउने छन् । राष्ट्र बैंकको क्षेत्रीय कार्यालयहरु र उसको मातहतमा सञ्चालित नोटकोष रहेका बाणिज्य बैंकहरुले पनि भदौ २८ गतेबाट नयाँ नोट सटही गर्ने छन् ।