Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकका कर्मचारीको असन्तुष्टि यसरी पोखियो मञ्चमा

२०७३ बैशाख १५ गते

DSCN5625‘हामीले कर्मचारीले उठाएका धेरै विषयहरुबारे छलफल गरिसकेका छौँ, जसमध्ये धेरैमा हामीले उचित निर्णय पनि लिईसकेका छौँ । त्यसैले यहाँ (मञ्च) मा आएर ती विषयमा कुरा उठाइरहन जरुरी नहुने कुरा म जानकारी गराउन चाहान्छु ।’ नेपाल राष्ट्र बैंकको ६१ औँ बार्षिकोत्सवमा स्वागत मन्तव्य दिने क्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले विभिन्न मागसहित आन्तरिक रुपमा संघर्ष गरिरहेका कर्मचारीहरुप्रति लक्षित गर्दै सुरुमै भने । उनको यो भनाईले राष्ट्र बैंकभित्र कर्मचारीहरुको आन्दोलन निकै चर्किएको कुरा पुष्टि गर्छ । 

डेपुटी गभर्नरले त्यसो भनेपनि कर्मचारी युनियनका नेताहरुले भाषण गर्ने पालो आएपछि आफ्ना मागहरुप्रति गम्भीर हुन चेतावनि दिए । कर्मचारीको हितका लागि मात्र नभएर समग्र राष्ट्र बैंकको हितमा आफुहरुको माग रहेको उनीहरुले दाबी गरे । 

कार्यक्रममा बोल्दै कर्मचारी संगठनका अध्यक्ष बसन्तराज पाण्डेले कर्मचारीको हितका बारेमा राष्ट्र बैंक नेतृत्वलाई गम्भीर हुन आग्रह गरे । त्यति मात्र नभएर उनले राष्ट्र बैंकले पछिल्लो पटक ल्याएको पुँजी बृद्धिसम्बन्धी नीतिले केही सकारात्मक लक्षण देखाएपनि संकट उल्लेखनीय रुपमा घट्न नसकेको टिप्पणी गरे । राष्ट्र बैंकले जुनै नीति ल्याएपनि देश लाउरे अन्र्थतन्त्रको भरमा रहेको उनको टिप्पणी थियो । पाण्डेले देशको अर्थतन्त्रलाई ब्रोइलर कुखुराको संज्ञा दिँदै राष्ट्र बैंकको भूमिका अझै सशक्त हुन नसकेको बताए । मन्तव्य दिने क्रममा कर्मचारी हित संगठनका अध्यक्ष दिल बहादुर सुब्बाले श्रमिक नीति अस्पष्ट रहेको भन्दै त्यसमा पुनर्विचार गर्न माग गरे । आफुहरुले उठाएका मागहरुको विषयमा उनले स्पष्ट नखुलाएपनि राष्ट्र बैंक नेतृत्वलाई ती मागहरु राखिसकेकाले सम्बोधन गर्न आग्रह गरे । 

त्यस्तै राष्ट्रिय कर्मचारी संघका अध्यक्ष रेशमराज नेपालले संगठनले राखेका मागका विषयमा विगतमा जस्तै कम आँकलन नगर्न चेतावनी दिए । डेपुटी गभर्नर शिवाकोटीले माग पुरा गर्ने आश्वासन दिएपनि उनले संगठनका मागहरु भने बोल्ने क्रममा दोहोर्याए ।  

कार्यक्रममा कर्मचारी संगठनका तर्फबाट बोल्दै वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष रश्मीराज रेग्मीले आफ्ना मागहरु पूरा गर्न आलटाल गरे कर्मचारी युनियनको शक्ति प्रयोग गर्ने चेतावनी दिए । उनले हक हित प्राप्तिका लागि ट्रेड युनियन ऐनले दिएको अधिकार प्रयोग गर्न बाध्य नतुल्याउन चेतावनी दिएका हुन् । 

‘विदेश जाने होडबाजीको विरोध’
बार्षिकोत्सव कार्यक्रममा कर्मचारी युनियनका नेताहरुले अर्को एउटा रहस्योद्घाटन पनि गरे । विभिन्न कार्यक्रममा सहभागी हुन विदेश जान पाउने अवसरहरुका विषयमा समेत होडबाजी चल्ने कुरा उनीहरुले खुलासा गरेका हुन् । उनीहरुले कसैले पनि नाम तोकेर नभने पनि राष्ट्र बैंकभित्र अस्वस्थ प्रतिष्पर्धा भएको दाबी गरे । राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष नेपालले विदेश जान भईरहेका होडप्रथा नराम्रो भएको टिप्पणी गरे । नेपाल कर्मचारी हित संगठनका अध्यक्ष सुब्बाले बैंकभित्र तल्लो तहदेखि माथिल्लो तहसम्मै अस्वस्थ प्रतिष्पर्धा रहेको दाबी गरे । त्यस्तो प्रतिष्पर्धाले बैंकलाई राम्रो नगर्नेतर्फ उनले सचेत गराए । वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष रेग्मीले राष्ट्र बैंकभित्र नकारात्मक संस्कृति मौलाउँदै गएको भन्दै सकारात्मक सोच विकास गर्नुपर्ने सुझाए । 

कार्यक्रमका अवसरमा राष्ट्र बैंकले विभिन्न क्षेत्रबाट आएका २२ जना कर्मचारीलाई दीर्घ सेवा पदक समेत प्रदान गरेको थियो । राष्ट्र बैंकमा २० वर्ष सेवा अवधि पुगेका कर्मचारीहरलाई गभर्नर डाक्टर चिरञ्जिबी नेपालसहित डेपुटी गभर्नद्धय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले दीर्घ सेवा गरेका कर्मचारीहरुलाई कदरस्वरुप सेवा पदक प्रदान गरेका हुन् ।