पाल्पा जिल्ला रिब्दीकोट गाउँपालिकामा कृषि विकास बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । आइतबार नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवि नेपालले उक्त शाखाको औपचारिक उद्घाटन गरे ।
कृषि विकास बैंकको क्षेत्रीय कार्यालय, भैरहवाका निर्देशक पारसमणी ढकालको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रममा सेवाग्राही तथा सर्वसाधारण जनता लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न कार्यालयका प्रतिनिधीहरु, सेवाग्राहीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले बैंकले प्रदान गर्ने आधुुनिक सेवासुविधा तथा बैंकको प्रोडक्टको बारेमा जानकारी गराए । स्थानीय जनताको सहयोग भएमा बैंकले भविष्यमा अझ बढी आधुनिक सेवा सुविधा उपलव्ध गराउने सीईओ सिटौलाको भनाइ थियो ।
प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवि नेपालले कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पुर्याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको बताए । बैंकलाई निरन्तर रुपमा उत्कृष्ट ढंगले संचालन गर्ने जिम्मा स्थानीय जनताको हातमा भएको उनको भनाइ थियो ।
सो उद्घाटन कार्यक्रममा कृषि विकास बैंकको मुख्य कार्यालय काठमाडौंका उप–महाप्रबन्धक श्री शेषरमण आचार्य, बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख प्रेम कुमार श्रेष्ठ, कृषि विकास बैंक लि. प्रमुख कार्यकारी अधिकृत कार्यालयका शाखा प्रमुख तथा प्रबक्ता हिमलाल पौडेल, कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय भैरहवा शाखा प्रमुख श्री भरत राज घिमिरे, शाखा कार्यालय पाल्पाका प्रबन्ध मोहन कुमार थापा लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।