हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
बैंकिङ कसुरका दोषी पक्राउ
बैंकिङ कसुर अपराधअन्तर्गत नेपाल प्रहरीले नेपाल बैंक लिमिटेडमा कार्यरत ५ कर्मचारीसहित ११ जनालाई पक्राउ गगर्यो । अनियमित एवं गैरकानुनी तवरले सुनकर्जा लिने–दिने कार्यगरी बैंकलाई १५ करोड ५१ लाख ४३ हजार ९ सय ५ रुपैयाँ ५७ पैसा हानी–नोक्सानी पुर्याएको भन्दै ११ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । ब्यूरोको टोलीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय, धरानमार्फत उच्च अदालत विराटनगरमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम मुद्दा दायर गरेको छ । १ करोड बराबरको सुन धितो राखी १५ करोड ५१ लाख रुपैयाँ कर्जा लिएका ६ जना व्यक्ति र मिलेमतोमा कर्जा दिने नेपाल बैंकका ५ कर्मचारीहरुलाई ब्यूरोको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भोजपुर सिद्धेश्वर– ४ घर भई हाल धरान नगरपालिका–१७ बस्ने ऋणी ज्ञानेन्द्र पुरकुटी, सुनसरी धरान नगरपालिका–१७ बस्ने ऋणी सन्जीत रसाईली, सुनसरी इटहरी नगरपालिका–८ भोजपुर टोल बस्ने ऋणी माधव रिसाल, धरान नगरपालिका–१७ न्यूकृति मार्ग बस्ने ऋणी सन्तोष रसाइली, धरान नगरपालिका–१५ दशरथपथ बस्ने ऋणी सुनिल विक, सुनसरी प्रकाशपुरका लालबहादुर बिक, धरान–१६ घर भई नेपाल बैंक लि. धरान शाखाका तत्कालिन खजान्ची पदमा कार्यरत हाल निलम्बित होमबहादुर भट्टराई, सुनसरी जब्दी घर भई नेपाल बैंक लि. धरान शाखाका तत्कालिन सहायक शाखा प्रबन्धक हाल निलम्बित रामकिशोर मेहता, सुनसरी गैसार इटहरी घर भई हाल नेपाल बैंक लि. धरान शाखामा सहायक शाखा प्रबन्धक पदमा कार्यरत शंकर न्यौपाने, सुनसरी धरान–१६ घर भई नेपाल बैंक लि. धरान शाखामा कार्यरत सानुबाबु श्रेष्ठ र कैलाली बसौटी–८ रामपुर घर भई हाल नेपाल बैंक लि. सिटी अफिस बिराटनगरमा शाखा प्रबन्धक पदमा कार्यरत पुष्पराज घिमिरे रहेका छन् ।
बैंक अफ काठमाण्डूको सीईओमा शोभन देव पन्त
बैंक अफ काठमाण्डू लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा शोभन देव पन्त नियुक्त भए । आइतबार (भदौ ४ गते)देखि आफ्नो कार्यभार साम्हालेका पन्त बैंकिङ क्षेत्र सुधारका हस्तीका रुपमा चिनिन्छन् । तत्कालिन लुम्बिनी बैंकमा सीईओ रहेका पन्त लुम्बिनी र बैंक अफ काठमाण्डू एकआपसमा गाभिएपछि बैंकिङ क्षेत्रबाटै बाहिरिएका थिए । यद्यपि, बैंक संचालन समितिले उनलाई पुनः सीईओ पदमा नियुक्त गरेपछि अब बिओकेले थप प्रगति गर्ने विश्वास लिइएको छ । उनले तीन दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा बिताइसकेका छन् । गत साउन महिनामा बिओकेका सिइओ अजय श्रेष्ठले राजिनामा दिएपछि उक्त पद रिक्त थियो ।
राप्तीभेरीलाई ज्योतिले किन्यो
ज्योति बिकास बैंक लिमिटेडले राप्तीभेरी विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विसजशन) गर्ने प्रस्ताव पारित गर्यो । बैंकको सोमबार(भदौ ५ गते) सम्पन्न विशेष साधारणसभाले बाँके जिल्लाको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको ३ जिल्ला (बाँके, बर्दिया र दाङ्ग) कार्यक्षेत्र रहेको राप्तीभेरी विकास बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको हो । ज्योति विकास बैंक लिमिटेडले राप्तीभेरी विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रयोजनका लागि सम्पत्ति तथा दायित्वको मुल्याङ्कनकर्ता लेखापरिक्षकबाट प्राप्त प्राप्ति गर्ने र विलय हुने संस्थाको चल÷अचल सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याङ्कन प्रतिवेदन तथा सो समेतको आधारमा संयुक्त प्राप्ति (एक्विजिसन) समितिबाट निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात १ः१ (एक अनुपात एक) लाई अन्तिम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । उक्त सभाले राप्तीभेरी विकास बैंक लिमिटेड प्राप्ति पश्चात प्राप्ति (एक्विजिसन) सम्बन्धी सम्झौतापत्र अनुसार ज्योति विकास बैंकको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि हुने हँुदा सो बमोजिम विकास बैंकको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न, हेरफेर गर्न र उपयुक्त ब्यबस्था गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धी प्रस्ताव पारित गर्ने र बैंकको प्रबन्धपत्रको दफा ५ मा उल्लेखित विकास बैंकको उद्देश्य प्राप्त गर्न गरिने कामहरुमा संलग्न अनुसार उपदफाहरु थप गर्ने गरी विकास बैंकको प्रवन्धपत्र संशोधन गर्ने निर्णय समेत पारित गरेको छ ।
थोरै पैसा जम्मा गर्दा परिचयपत्र नचाहिने
अरुको बैंक खातामा रकम जम्मा गर्दा परिचयपत्र चाहिने सिस्टमलाई संशोधन गरी नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था कार्यान्वयनमा ल्यायो । जसअनुसार, अब कुनै पनि बैंकमा एक लाख रुपैयाँभन्दा कम रकम जम्मा गर्दा परिचयपत्र नचाहिने भएको छ । नेपाल राष्ट्र बैंकले यसअघि दोस्रो व्यक्तिको खातमा रकम जम्मा गर्दा अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने कागजात देखाउनुपर्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले जतिसुकै रकम जम्मा गर्दा पनि यो नियम लागू हुने जनाएको थियो । अब भने एक लाखमाथिको रकम जम्मा गर्दा मात्रै परिचयपत्र देखाउनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।
पुँजी बढाउन नसक्नेलाई फोर्स मर्जर
तोकेको समयमा चुक्तापुँजी नपुर्याउने बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गर्ने व्यवस्था पनि कार्यान्वयनमा आयो । समयमा नै चुक्तापुँजी नपुर्याउने बैंकलाई तीन किसिमको कारबाही गर्ने जनाएको छ । तोकिएको चुक्ता पुँजी नपुगेमा विद्यमान व्यवस्था अनुरुप नगद लाभांश र बोनश सेयर वितरण एवम् शाखा विस्तारमा रोक लगाउने, निक्षेप संकलन र कर्जा प्रवाहमा सीमा तोक्ने तथा बाध्यकारी मर्जरमा लैजाने लगायतका कारबाही अगाडि बढाइने राष्ट्र बैंकले जनाएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा नै समावेश गरिएको उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले छुट्टै निर्देशनसमेत जारी गरिसकेको छ । बैंक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०७४ को वाह्य लेखापरीक्षण एवम् वित्तीय विवरण सार्वजनिक गर्दाको अवस्थासम्ममा तोकिए बमोजिमको न्यूनतम चुक्ता पुँजी पुगेको व्यहोरा वित्तीय विवरणको लेखा सम्बन्धी टिप्पणीमा स्पष्ट रुपमा जनाइएको हुनुपर्ने बताइएको छ । यो ऐनअनुसार, आर्थिक वर्ष समाप्त भएको ६ महीनासम्म अन्तिम लेखापरीक्षण गर्न सकिन्छ । त्यसैले, बैंकहरुले पुँजीवृद्धिका लागि छ महिनाको समयावधि पाएका छन् । असोज मसान्तसम्ममा पनि पुँजी पुर्याउन नसक्ने बैंकलाई भने राष्ट्र बैंकले कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ ।
भिखारीको घरमा लाख-लाखका बिटा
डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट रु तीन लाख १५ हजार रकम फेला पर्यो । विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो । सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो ।
अधिकांश नोट भिजेको अवस्थामा फेला परेको थियो । सोमध्ये एक हजारको नोट एक लाख नौ हजार बाँकी नोट ५०० र १०० को रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मगन्तेका रुपमा मण्डलले सो रकम संकलन गरेका हुन् । अशक्त अवस्थामा रहेको उनले एक्कासि बाढीको पानी घरभित्र प्रवेश गरेपछि सो नोटको बोरा निकाल्न नसकेको बताइएको छ ।
अन्य,
- पोखरा–लेखनाथ महानगरपालिका–९ स्थित नेपाल बैंक लिमिटेडको पृथ्वीचोक शाखामा बिहीबार आगलागी भयो ।
- सिर्जना फाइनान्स लिमिटेडले मोरङको कटहरीमा नयाँ शाखा सञ्चालनमा ल्यायो ।
- प्रभु ग्रुपले बाढीप्रभावित क्षेत्रमा राहात वितरण गर्नुका साथै निःशुल्क स्वास्थ्य शिविर संचालन गरी निशुल्क औषधि वितरण गर्यो ।
- सिद्धार्थ बैंकले भाद्र ५ गते सोमबार प्युठानको जुम्रीमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्यायो ।
- अरुण फाइनान्स लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एककोे अनुपातमा हकप्रद सेयर निष्काशन गर्यो ।
- आस्वामार्फत आईपिओ तथा एफपिओमा आवेदन गर्न इच्छुकहरुका लागि सिद्धार्थ बैंकले “सिद्धार्थ मेरो सेयर खाता” सञ्चालनमा ल्यायो ।
- मुक्तिनाथ विकास बैंक लिमिटेडले आइतबारदेखि ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्यो ।