२०७४ भाद्र ९ गते

बैंकिङ कसुरको ‘लार्जेस्ट’ घटना : सात अर्ब डलर घोटाला

युरोपकै ठूला बैंकहरुमध्येको एक सोसाइटी जनरलमा भएको बैंकिङ कसुरलाई हालसम्मकै ठूलो बैंकिङ कसुर मानिन्छ । फ्रान्सको तेस्रो ठूलो बैंक समेत रहेको उक्त बैंकका एक कर्मचारीले सात विलियन अमेरिकी डलर बराबरको रकम हिनामिना गरेका थिए । उनले उक्त रकम बराबरको काल्पनिक कारोबार गरेको पत्ता लागेको थियो । 

सन् २००८ को जनवरी महिनाको अन्तिम साता यो कुराको पर्दाफास भएको थियो । उक्त समयमा कुन कर्मचारीले उक्त काल्पनिक कारोबार गरेको भन्ने कुरा पत्ता लागेको थिएन । पछि, उक्त कर्मचारी जेरोक केर्भिल रहेको कुरा पत्ता लाग्यो । केर्भिलले आफूले ४.९ विलियन युरोको ठगी गरेको स्वीकार गरेका थिए । तर, उक्त कारोबारबाट आफू मात्र लाभान्वित भएको कुरा भने उनले स्वीकारेनन् । सो ठगीको घटना बाहिरिएपछि बैंकले केर्भिलको विरुद्धमा कानुनी कारबाही अघि बढाएको थियो । तर, केर्भिल भने फरार भएका थिए । उनकी वकिलले उनी भागेको कुरा सत्य नभएको बताएपनि उ कहाँ छ भन्ने कुरा भने खुलाएकी थिइनन् ।

सन् २०१२ मा केर्भिललाई आफ्नो कारणले बैंकलाई भएको नोक्सानीको भरपाई गर्ने आदेश समेत दिइएको थियो । सोही ठगीका लागि उनले तीन वर्षको जेल सजाय समेत भोगे । जेलबाट फर्किएपछि केर्भिलले कम्प्युटर सेक्युरिटी कन्सल्टेन्ट र क्यासिनो क्यापिटालिजमका तीखो आलोचकका रुपमा आफ्नो पहिचान बनाए ।

४० वर्षका केर्भिल एक गाउँले लोहारका छोरा हुन् । उनको जीवनमा आधारित एक चलचित्र समेत बनेको छ । क्रिष्टोफर बराटियरले बनाएको उक्त चलचित्र केर्भिलद्धारा लिखित द स्पाइरल : द मेमाइर्स अफ अ ट्रेडर नामक पुस्तकमा आधारित छ । उक्त चलचित्रमा कानुनी सत्यताभन्दा पनि व्यक्तिगत सत्यताको पर्दाफास गर्न खोजिएको बराटियर बताउँछन् ।