April 26th, 2016

राष्ट्र बैंकका लागि नयाँ मार्गचित्र : बैंकर्सले दिए यस्ता सुझाव

nrbनेपाल राष्ट्र बैंक मंगलबार (आज) देखि आफ्नो स्थापनाको ६१ औं बर्षमा प्रवेश गरेको छ । वि.सं २०१३ सालमा स्थापना भई बैंक तथा वित्तीय संस्थाहरुको व्यवस्थापन र सुधारका लागि नियमनकारी भूमिका निर्वाह गर्दै आएको नेपाल राष्ट्र बैंक स्थापनाको ६१ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंक तथा वित्तीय क्षेत्रका विभिन्न उच्च पदस्थ व्यक्तिहरुले शूभकामना व्यक्त गर्नुका साथै आगामी दिनमा राष्ट्र बैंकको प्रभावकारी भूमिकाका लागि सुझाव समेत दिएका छन् । 

राष्ट्र बैंकको स्थापना दिवशको अवसरमा विभिन्न बरिष्ठ बैंकर्सहरुले दिएको शूभकामना तथा सुझावहरु यहाँ प्रस्तुत गरिन्छ : 

व्यापक छलफलसहित अघि बढ्नुपर्छ  
अनिल केशरी शाह, उपाध्यक्ष, नेपाल बैंकर्स संघ 
anil keshari shahaनेपाल राष्ट्र बैंक आगामी दिनहरुमा अझ सफल हुँदै जाओस् भन्ने शुभकामना दिन चाहन्छु । नेपाल राष्ट्र बैंकले आफ्नो स्थापनाकालदेखि नै उच्च पारदर्शीता, नियमन, व्यवस्थापन लगायत सबै दृष्टिकोणबाट सफलता हासिल गर्दै आएको छ । यससँगै वित्तीय अनुशासन कायम गर्नको लागि नेपाल राष्ट्र बैंकले गर्ने सुपरभिजन, गाईडलाईन्स्, र डिरेक्सन्स् एउटा बिरामीको लागि डाक्टरले दिने औषधीलाई अमृतसँग तुलना गरे बराबर छ । त्यस्तै, नेपालका बैंक तथा वित्तीय संस्थाका लागि पनि नेपाल राष्ट्र बैंकले अभिभावकको भुमिका निर्वाह गरिराखेको छ । यसअर्थले पनि नेपाल राष्ट्र बैंक सरकारी निकायहरुमध्ये गरीमामय संस्था बन्न सफल भएको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले ८ अर्ब पुँजीको पोलिसी ल्याएको छ । यहि पोलिसीबाट पनि प्रष्ट हुन सकिन्छ, नेपाल राष्ट्र बैंक हाम्रा बैंक तथा वित्तीय संस्थालाई व्यवस्थित र पारदर्शी बनाउन लागीपरेको छ भनेर । यद्यपी आउने दिनहरुमा बैंकहरुको भोलुम ठूलो हुने भएकोले नेपाल राष्ट्र बैंकले आफ्नो तर्फबाट तयारी गर्नुपर्छ । रेगुलेसन गर्ने निकाय नै नेपाल राष्ट्र बैंक भएको कारणले गर्दा त्यहाँको जनशक्ति, प्रविधि र मेकानिजम तयारी अवस्थामा राख्नुपर्छ । यसका लागि व्यापक छलफल तथा योजनाहरु बेलैमा बनाएको खण्डमा नेपाल राष्ट्र बैंक अझ सशक्त भएर अघि बढ्न सक्छ ।      

समयसापेक्ष नीति बनाउनुपर्छ 
अनिल ज्ञवाली, सीईओ, ग्लोबल आईएमई बैंक
anil-gyawaliनेपाल राष्ट्र बैंक ६१ औँ बर्ष प्रवेश गरेको सुुखद् उपलक्ष्यमा हार्दिक शुभकामना दिन चाहन्छु । नेपाल राष्ट्र बैंक आगामी दिनमा देशको बैकिङ क्षेत्रको विकास, विस्तार र उन्नतिमा अझ बढी प्रभावकारी र सशक्त भुमिका निर्वाह गर्न सफल रहोस् भन्ने कामना छ । हालसम्म नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको स्थापना र विकासमा पुर्याएको योगदान प्रशंसनिय छ । कतिपय सवालहरुमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुको सुक्ष्म व्यवस्थापनमा समेत संलग्न रहेको तर्कहरु पनि आईरहेका छन् । केन्द्रीय बैंकको रुपमा रहेको नेपाल राष्ट्र बैंकले सम्बन्धीत पक्षहरुसँग समेत छलफल गरी समष्टिगत रुपमा समयसापेक्ष नीतिहरु निर्माण गर्नेे र कार्यान्वयनको स्तरमा देखिएका कमी–कमजोरीलाई समयमा नै औँल्याई सुधार गर्ने तर्फ सम्बन्धीत पक्षलाई अभिप्रेरित गराउन सकेमा अझ प्रभावकारी भुमिका निर्वाह गर्न सक्दछ, भन्ने मेरो बुझाई छ । 

 

राष्ट्र बैंकले पनि ‘टाईमलाईन’ दिन सक्नुपर्छ
भुवन दाहाल, सीईओ, सानिमा बैंक  
Bhuvan Kumar Dahal ,CEO of Sanima Bank  POST PHOTO: PRAKASH TIMILSENA/KANTIPUR.नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक मात्रै नभएर सरकारी कार्यालयहरुमध्ये सबैभन्दा व्यवस्थित, पारदर्शी तथा सबैलाई अभिप्रेरणा दिन सक्ने स्रोत समेत हो । ६१ औँ वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंकलाई व्यक्तिगत तथा संस्थागत तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । सरकारी निकाय भईकन पनि ‘प्रुडेन्शियल प्यारामिटर्स’ लगायत सबै किसीमका ‘ईस्युहरु’ तथा यस निकायबाट अन्य बैंक तथा वित्तीय संस्थाहरुको लागि दिने अभिप्रेरणा अत्यन्त प्रभावकारी छ । यद्यपी अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले बनाएको नीति–नियम तथा जुन ढंगले टाईमलाईन दिएर काम गर्न भनिराखेको स्थिती छ, त्यहि अनुरुप नेपाल राष्ट्र बैंकबाट पनि यो काम यति दिन भित्र सकिन्छ भन्ने किसिमको टाईमलाईन, बैंक तथा वित्तिय संस्थाहरुलाई प्राप्त भयो भने नेपाल राष्ट्र बैंकको काम कार्बाही अझ व्यवस्थित देखिन्थ्यो भन्ने मेरो व्यक्तिगत बुझाई छ । 

शतप्रतिशत कार्यान्वयनमा जान सकोस् 
नारायणदास मानन्धर, सीईओ, प्राईम कमर्शियल बैंक    
narayan dasनेपाल राष्ट्र बैंक सशक्त, प्रभावकारी र पारदर्शी निकाय हो । त्यसकारण नेपाल राष्ट्र बैंकको जुन किसीमको ब्राण्ड छ, त्यसको निरन्तरता जरुरी छ । यसका अलावा राष्ट्र बैंकले समयसापेक्ष सुधार तथा बदलिँदो परिस्थितीको माग अनुरुप आफूलाई उभ्याउन सक्नुपर्छ । यो राष्ट्र बैंकका लागि चुनौती पनि हो । अहिलेको  अवस्थामा सिंगो नेपाल पूर्ननिर्माणको अभियानमा छ । यो अवस्थामा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ठूलो स्केलमा लगानीमा आकर्षित गर्नको लागि ‘प्रोभिजनल पोलिसी’ परिमार्जन गर्न आवश्यक छ । यसका साथै बनाईएका नीति नियमलाई शतप्रतिशत कार्यान्वयनमा लैजान नेपाल राष्ट्रले बैंकले अभिभावकको भुमिका निर्वाह गर्न आवश्यक छ ।  

अहिलेको गतिले निरन्तरता पाओस् 
ज्ञानेन्द्र ढुंगाना, सीईओ, एनबी बैंक 
gyanendra dhunganaनेपाल राष्ट्र बैंक ६१ औँ बर्षमा प्रवेश गरेको सुुखद् उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु । वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंकलाई व्यक्तिगत तथा संस्थागत तर्फबाट हार्दिक शुभकामना छ । नेपाल राष्ट्र बैंक देशको समग्र बैकिङ क्षेत्रको विकास, विस्तार र उन्नति आजसम्म जुन रुपले लागिपरेको छ, त्यो स्पिड र प्रभावकारीताको निरन्तरताको कामना छ । यद्यपी नेपाल राष्ट्र बैंकले समयसापेक्ष ढंगले नीति–नियमहरु परिमार्जन गर्न भने आवश्यक छ ।  

 

 

 

त्यस्तै विभिन्न बित्तीय संस्थाका उच्च अधिकारीहरुले पनि राष्ट्र बैंकको ६१ औँ स्थापना दिवशको अवसरमा शुभकामना तथा आगामी दिनमा पनि राष्ट्र बैंकको प्रभावकारी भूमिका रहने अपेक्षासहित केही सुझाव दिएका छन् ।  

अझै प्रभावकारी बन्दै जाओस् 
आश्विनी कुमार ठाकुर, प्रशासक, बिमा संस्थान
Asbini-kumar-thakurसबै बैंक तथा वित्तीय संस्थाहरुको साझा संस्था नेपाल राष्ट्र बैंक आफ्नो स्थापनाको ६० औँ वर्ष पूरा गरी ६१ औँ वर्षमा प्रवेश गरेकोमा हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्न चाहन्छु । राष्ट्र बैंकले ल्याएका पछिल्ला कार्यक्रमहरु एकदमै प्रभावकारी छन् । आगामी दिनमा राष्ट्र बैंकले वित्तीय क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन अझै ध्यान दिनुपर्छ भन्ने मेरो सुझाव छ । राष्ट्र बैंकले वित्तीय क्षेत्रको चौतर्फी विकासका तथा सुधारका लागि बैंकिङ जगतबाटै देशको विकास गर्ने रणनीति अघि बढाओस् भन्न चाहन्छु । 

 

 

 

बैंकिङ क्षेत्रलाई उकास्ने योजनाहरु ल्याओस् 
फत्त बहादुर केसी, अध्यक्ष, बिमा समिति
fatta bahadurनेपाल राष्ट्र बैंक ६१ औँ बार्षिकोत्सव मनाउँदैछ, म मेरो व्यक्तिगत तथा बिमा समितिको तर्फबाट ६१ औँ बाषिकोत्सवको शुभकामना दिन चाहन्छु । नियमनकारी निकायको हैसियतले पनि राष्ट्र बैंकले आफ्नो जिम्मेवारी वहन गर्दै आएको छ । आगामी दिनमा राष्ट्र बैंक देशको सबैभन्दा प्रभावकारी संस्था बन्न सफल होस् । यसको लागि राष्ट्र बैंकले भएका नीति तथा कार्यक्रमहरु बढाउँदै जाओस् । त्यस्तै बैंकिङ क्षेत्रलाई उकास्ने खालको नीति र नियम बनाउँदै अघि बढोस् । सबै बैंक वित्तीय संस्थाहरुको क्षमता बढाओस् र देशको आर्थिक विकासमा स्थायित्व कायम गर्न सफल होस् । राष्ट्र बैंकको आगामी कामकारबाहीहरु सफल होउन् । नेपाल राष्ट्र बैँकलाई हार्दिक शुभकामना । 

 

 

बैंकिङ प्रणालीलाई सुधारेको छ 
राजगोपाल राजभण्डारी, अध्यक्ष, नेपाल रेमिटर्स एसोशिएसन 
rajgopal bhandariनेपाल राष्ट्र बैंक ६१ औँ वर्षमा प्रवेश गरेका अवसरमा मेरो व्यक्तिगत र संस्थागत तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । नेपालको बैंकिङ क्षेत्रलाई पछाडि फर्किएर हेर्ने हो भने आजभन्दा तीन बर्षअघि नेपालको बैंकिङ प्रणाली एकदमै खस्कँदो थियो । तर त्यसयता खस्कँदो अवस्थामा रहेको बैंकिङ क्षेत्र र रेमिट्यान्सलाई व्यवस्थित गर्नको लागि राष्ट्र बैंकको ठूलो भूमिका रह्यो । त्यसैले आगामी दिनमा पनि राष्ट्र बैंकबाट यस्तै भूमिकाहरु निर्वाह हुन सकोस्, अझै प्रभावकारी नीतिहरु तर्जुमा हुन सकुन् भन्न चाहन्छु ।  

 

 

 

स्पष्ट बिमा नीति पनि आवश्यक 
विजयबहादुर शाह, अध्यक्ष, नेपाल बिमक संघ
bijay bahadur shahसर्वप्रथम नेपाल राष्ट्र बैंक ६१ औँ वर्षमा प्रवेश गरेको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । नेपाली बैंकिङ प्रणालीको विकास र विस्तारका लागि राष्ट्र बैंकको भूमिका अतुलनीय छ । आगामी दिनमा पनि नेपाली बैंकहरुको पुँजी बृद्धिका लागि नयाँ मापदण्ड ल्याउनुपर्छ । नेपाली बैंंकहरुलाई उद्यमशीलतामा लगानी गर्न अभिप्रेरित गर्ने खालका नीति ल्याउनुपर्छ । बैंकजस्तै बिमा क्षेत्रको विस्तारका लागि पनि प्रभावकारी नीतिहरु ल्याउन जरुरी भएकाले त्यसतर्फ राष्ट्र बैंकको ध्यानाकर्षण गराउन चाहन्छु । 

                                              प्रस्तुति : अनिता आचार्य/शिवहरि घिमिरे