रुपा कोइराला । गत आर्थिक वर्षसम्ममा २३ वटा वाणिज्य बैंकहरु अर्वपति भएका छन् । जसमध्ये, एनसीसी बैंक, माछापूछ्रे बैंक, बैंक अफ काठमाण्डू, सनराइज बैंक र लक्ष्मी बैंक यसपालीदेखि अर्वपति क्लबमा प्रवेश गरेका हुन् । बाँकी १८ वटा बैंकहरु अघिल्लो वर्षदेखि नै अर्वपति बनिसकेका थिए । समग्रमा हाल सञ्चालनमा रहेका २८ वटा बाणिज्य बैंकहरुले एक बर्षमा ४५ अर्ब २६ करोड रुपैयाँ नाफा गरेका छन् । बैंकहरुको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २६.६१ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक बर्षमा बैंकहरुको नाफा ३५ अर्ब ७४ करोड रुपैयाँ थियो ।
चार वटा बैंकको नाफा तीन अर्बमाथि
गत आर्थिक वर्षमा कुमारीबाहेक सबैको मुनाफा बढेको छ । सबैभन्दा धेरै नविल बैंकले तीन अर्ब ६२ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ । नविलबाहेक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र राष्ट्रिय वाण्ज्यि बैंकको नाफा पनि तीन अर्ब नाघेको छ । यी बैंकहरुको नाफा क्रमशः तीन अर्ब २१ करोड, तीन अर्ब १६ करोड र तीन अर्ब आठ करोड रुपैयाँ रहेको छ ।
दुई अर्बमाथि कमाउने तीन बैंक
तीन बैंकले दुई अर्बभन्दा बढी खुद मुनाफा आर्जन गरेका छन् । जसमध्ये, कृषि विकास बैंकले दुई अर्ब ७७ करोड रुपैयाँ कमाएको छ । हिमालयन बैंक र ग्लोबल आईएमई बैंकले क्रमशः दुई अर्ब १७ करोड र दुई अर्ब तीन करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।
अर्वपति क्लबमा थप पाँच बैंक
यसपाली अर्वपति क्लबमा पाँच बैंकहरु थपिए । जसमध्ये, एनसीसी बैंकको नाफा एक अर्ब ३२ करोड रुपैयाँ रहेको छ । माछापूछ्रे बैंकले एक अर्ब ३० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने बैंक अफ काठमाण्डूले एक अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, सनराइज बैंक र लक्ष्मी बैंकले क्रमशः एक अर्ब १६ करोड र एक अर्ब २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् ।
एक अर्बमाथि नाफा कमाउने अन्य बैंकहरु
यसपालीदेखि अर्वपति क्लबमा प्रवेश गरेका बैंकहरुबाहेक, १० वटा बैंकहरुको नाफा एक अर्बमाथि छ । एभरेष्ट बैंकले एक अर्ब ९८ करोड रुपैयाँ नाफा कमाउँदा प्रभु बैंकले एक अर्ब ७५ करोड रुपैयाँ कमाएको छ भने नेपाल एसबीआई बैंक र एनएमबि बैंकले क्रमशः एक अर्ब ५२ करोड र एक अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका छन् । यसबाहेक, प्राइमले एक अर्ब ४८ करोड, एनआईसी एसियाले एक अर्ब ४६ करोड, सिद्धार्थले एक अर्ब ४१ करोड, स्टान्डर्ड चार्टर्डले एक अर्ब ३८ करोड, सिटिजन्सले एक अर्ब २१ करोड र नेपाल बंगलादेश बैंकले एक अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको छ ।
नाफामा कमजोर पाँच बैंकहरु
पाँच बैंकहरु भने मुनाफा आर्जनमा कमजोर देखिएका छन् । यीमध्ये, कुमारी बैंकको त मुनाफा नै अघिल्लो वर्षको तुलनामा घटेको छ । अघिल्लो वर्ष ७१ करोड ६० नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा ७० करोड तीन लाख मात्रै नाफा गरेको छ । यसबाहेक, मेगा, जनता, सेञ्चुरी र सिभिल बैंकले क्रमशः ७९ करोड १४ लाख, ६४ करोड १८ लाख, ४४ करोड ७४ लाख र ३३ करोड ८१ लाख रुपैयाँ नाफा कमाएका छन् ।


