२०७४ भाद्र ४ गते

प्रभु ग्रुपले बाढीपीडितका लागि सप्तरीमा स्वास्थ्य शिविर राख्ने

बैंकिङ खबर- अविरल बर्षासँगै आएको बाढीका कारण प्रभावित क्षेत्रमा प्रभु ग्रुप र प्रभु म्यानेजमेन्टको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । बाढी प्रभावित जिल्ला सप्तरीमा निःशुल्क स्वास्थ्य शिविर शिविर सञ्चालनका लागि जिल्ला जनस्वास्थ कार्यालय सप्तरी राजविराज र जिल्ला प्रशासन कार्यालय सप्तरीबाट प्रभुले अनुमति लिइसकेको छ । 

सप्तरी जिल्लाको कुन ठाउँमा स्वास्थ्य शिविर सञ्चालन हुने भन्ने बिषयमा निर्णय भइनसकेको प्रभु ग्रुपले जनाएको छ । प्रभु ग्रुपका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालय सप्तरीले तोकेको स्थानमा स्वास्थ्य शिविर सञ्चालन हुनेछ । 

बाढी प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने तथा बाढी प्रकोपबाट विभिन्न रोगहरु लाग्ने खतरा रहेकाले त्यस्तो खतराबाट बच्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गर्न लागिएको आयोजक प्रभु म्यानेजमेन्टले जनाएको छ । 

प्रभु म्यानेजमेन्टले दिएको जानकारी अनुसार सोमबारबाट हुने निःशुल्क स्वास्थ्य शिविरमा बाढीपीडित स्थानीयहरुका लागि जनरल फिजिशीयनहरुद्वारा स्वास्थ्य परिक्षण हुनेछ । स्वास्थ्य शिविर सञ्चालनका लागि जनरल फिजिशियनद्वय डा. सुवास श्रेष्ठ र डा. सजनी डंगोल, नर्सहरु सुनिती राउत र संगिता कार्की साथै फार्मेसी एसिस्टेन्ट सुरुची राउत सप्तरी जाने भएका छन् । 

स्वास्थ्य शिविर ३ दिनसम्म चल्ने छ । शिविरमा बाढी प्रभावित स्थानीयको स्वास्थ्य परिक्षणका साथै आवश्यक औषधीहरु समेत निःशुल्क वितरण हुनेछ ।