मुनाफा आर्जनमा सिभिल बैंक लिमिटेड सबैभन्दा कमजोर देखिएको छ । बैंकले गत आर्थिक वर्षमा ३३ करोड ८१ लाख १४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा दुई प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा सिभिलले ३३ करोड १४ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
यो अवधिमा चुक्ता पुँजी ६८.१९ प्रतिशतले बढाएर पाँच अर्ब १८ करोड ५२ लाख २२ हजार रुपैयाँ पुर्याएको बैंकको जगेडाकोषमा एक अर्ब ४९ करोड ३५ लाख ४८ हजार रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी १२.८६ प्रतिशतले बढेर एक अर्ब १२ करोड २८ लाख ४० हजार रुपैयाँ पुगेको छ । निक्षेप ३१ अर्बबाट बढाएर ३४ अर्ब ११ करोड ७ लाख ४१ हजार रुपैयाँ पुर्याएको सिभिलले २९ अर्ब ४९ करोड ५९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । सम्भावित जोखिमका लागि ६७ करोड ६३ लाख ८७ हजार रुपैयाँ छुट्याएको सिभिलले यो अवधिमा ४३ करोड ७२ लाख ९० हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ ।
सिभलको खराब कर्जा १.३५ प्रतिशतले बढेर ४.०५ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको कस्ट अफ फन्ड पनि ५.३७ प्रतिशतबाट बढेर ६.८३ प्रतिशत पुगेको छ । कर्जा निक्षेप अनुपात ७५.७३ प्रतिशत रहेको बैंकको प्रतिसेयर आम्दानी चार रुपैयाँ २३ पैसाले घटेर छ रुपैयाँ ५२ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ भने ११ रुपैयाँ ४९ पैसाले बढेर १२८ रुपैयाँ ८० पैसा कायम भएको छ ।