२०७४ भाद्र २ गते

आइएमई फाउन्डेशनद्वारा बाढीपीडितलाई राहत वितरण

साउनको अन्तिम साता आएको अविरल वर्षाका कारणले प्रभावित पूर्वी तराईका विभिन्न स्थानमा आइएमई फाउन्डेशनले राहत वितरण गरेको छ । बाढीपहिरोले पीडित घरपरिवारको दैनिक जीवनमा प्रयोग हुने खाद्यान्न–लत्ताकपडा लगायतका सामग्रीहरु आइएमई फाउन्डेशन केन्द्रीय कार्यालयबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रुपका स्थानीय व्यावसायीक साझेदारहरुले स्थानीय दैवी प्रकोप उद्घार समन्वय समितिको रोहबरमा वितरण गरेका हुन् ।

आइएमई फाउन्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अविरल बर्षाका कारण घरबार विहीन हुनपुगेका पूर्वी तराईका प्रभावित परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गत साउन ३० गते गरेको थियो ।  उक्त निर्णय कार्यान्वयनका लागि केन्द्रीय तहमा तीन सदस्यीय कार्यदल गठन गरी कार्यालयमा कार्यरत बरिष्ठ अधिकृतहरुलाई सम्बन्धित स्थानमा जिम्मेवारी तोकी पठाइसकिएको छ ।

आइएमई फाउन्डेशन मिति २०६६ सालमा दर्ता भएको संस्था हो । आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित क्रियाकलाप यही फाउन्डेशनमार्फत् गर्दै आएको छ ।