२०७४ भाद्र २ गते

प्रभु बैंकद्वारा कम्प्युटर हस्तान्तरण

प्रभु बैंक वालिङले वालिङमा शाखा विस्तारको दोश्रो वर्षको अवसरमा वालिङ बहुमुखी क्याम्पसलाई एक थान कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व शिर्षकको रकमबाट कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो

कार्यक्रममा क्याम्पसका सञ्चालक समितिका अध्यक्ष मोहन रेग्मी, क्याम्पस प्रमुख रिना राना, कृष्ण खाँड लगायतका वक्ताहरुले सामाजिक क्षेत्रसँग समन्वयात्मक सम्बन्ध विस्तारको विचारलाई प्रशंसा गर्दै अगामी दिनमा बैंकको गतिविधि सकारात्क ढंगले अगाडी बढोस भनी शुभकामना व्यक्त गरे । 

साथै बैंकका पश्चिम क्षेत्रका प्रमुख रेनु प्रसाद पाण्डेले बैंकको खुद नाफाको एक प्रतिशत नाफा सामाजिक उत्तरदायित्वमा खर्च छुट्याईको हुने र यहाँको सहयोग अन्तिम नभएर सुरुवाती भएको बताए ।
 
बैंकले यसअघि पनि वालिङमा रक्तदान कार्यक्रम, छैटौं वालिङ महोत्सवमा निशुल्क आँखा शिविर, युवाहरुमा बैकिंङ सचेतना कार्यक्रम लगायत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गरीसकेको वालिङ शाखाका प्रमुख हरि प्रसाद डुम्रेले बताए । प्रभु बैंकको हालको चुक्ता पूँजी पाँच अर्ब ८८ करोड, निक्षेप झन्डै ८१ अर्ब, लगानी झन्डै ६१ अर्ब र नाफा एक अर्ब पचहत्तर करोड रहेको डुम्रेले बताए । यसका अलावा बैंकले ४० प्रतिशत  हकप्रद सेयर निष्काशन गर्ने योजना पनि अघि सारेको छ । 

देशकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमखी क्याम्पसको स्थापना २०३७ सालमा भएको हो । यहाँ कक्षा ११ र १२, स्नातक तह, स्नाकोत्तर तह सञ्चालन छन् । हाल क्याम्पसमा करिब १३ सय विद्यार्थीहरु अध्ययनरत छन । पर्वत, गुल्मी, पाल्पा र तनहुँको विद्यार्थीको शैक्षिक केन्द्र विन्दु हो ।