२०७४ श्रावण ३० गते

नेपाल इन्भेष्टमेन्ट बैंकको मुनाफा तीन अर्बमाथि

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा तीन अर्ब १६ करोड ६९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा २३.८८ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब ५५ करोड आठ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको थियो । 

हाल इन्भेष्टमेन्टको चुक्ता पुँजी नौ अर्ब २४ करोड ३ लाख ७९ हजार रुपैयाँ छ । बैंकको रिजर्भ कोषमा पनि ३५.६४५ वृद्धि भएर ११ अर्ब ७८ करोड १ लाख ७९ हजार रुपैयाँ पुगेको छ । इन्भेष्टमेन्ट बैंकले १ खर्ब २५ अर्ब ६६ करोड ९३ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६ अर्ब ६८ करोड ३८ लाख ७७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको निक्षेप १५.६९५ र कर्जा लगानी २२.६१५ धेरै हो । 

बैंकको खुद ब्याज आम्दानी पनि २२.०१५ वृद्धि गरेर ४ अर्ब ७८ करोड ४१ लाख ४७ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी अघिल्लो वर्ष ३ अर्ब ९२ करोड ११ लाख ५ हजार रुपैयाँमात्र थियो । बैंकले यो त्रैमाससम्ममा ९ करोड ६१ लाख २० हजार रुपैयाँ राइट ब्याक गरेको छ । 

इन्भेष्टमेन्टको कर्जा निक्षेप अनुपात ७७.६३ प्रतिशत छ । बैंकको खराब कर्जा ०.६८ प्रतिशतबाट ०.८३ प्रतिशत पुगेको छ भने कस्ट अफ फन्ड पनि २.६५ प्रतिशतबाट बढेर ५.८४ प्रतिशत पुगेको छ । इक्विटीमा प्रतिफल १५.०३ प्रतिशत छ । 

बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ २० पैसा र प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ ४९ पैसा छ । अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी र नेटवर्थ दुवै वृद्धि भएको हो । अघिल्लो वर्ष बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३० पैसा र नेटवर्थ १८७ रुपैयाँ ७ पैसा थियो ।