नेपाल हाइड्रो डेभलपर लिमिटेडले भोलीदेखि निष्काशन गर्न लागेको आईपिओमा आस्वाबाट मात्रै आवेदन दिन पाइन्छ । गत साउन १ गतेदेखि नै आस्वा अनिवार्य भइसकेको छ । आईपिओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । कतिपय बैंकहरुले आस्वा सेवा निःल्क दिइरहेका छन् भने कतिपय बैंकले त अनलाइनमार्फत नै यो सेवा उपलब्ध गराएका छन् । परम्परागत शैलीको तुलनामा आस्वा सेवा एकदमै सजिलो हो । तर, कतिपयलाई आस्वा प्रणालीबाट सेयर कसरी किन्ने भन्ने अन्यौलता भइरहेको हुन सक्छ ।
के हो आस्वा प्रणाली ?
धितोपत्र सेयरको सार्वजनिक निष्काशनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँड नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो । लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनका लागि धितोपत्र बोर्डबाट दरखास्त संकलन गर्न अनुमतिप्राप्त र आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा मात्र दरखास्त दिनुपर्ने हुन्छ । धितोपत्रको आवेदनका लागि अनुमतिप्राप्त बैंक वा वित्तीय संस्था तथा सम्बन्धित शाखा कार्यालयहरुले धितोपत्र बोर्डले तोके बमोजिमको ढाँचामा दरखास्त फारम तयार गरी लगानीकर्तालाई उपलब्ध गराउने छन् । बैंक वा वित्तीय संस्थाले दरखास्त संकलन गर्न विद्युतीय प्रणाली (अनलाइन सिस्टम) को समेत प्रयोग गर्न सक्नेछन् । आवेदन फारम बुझेपछि बैंक वा वित्तीय संस्थाले सम्बन्धित लगानीकर्तालाई आवेदन बुझेको प्रमाण स्वरुप बोर्डले तोके बमोजिमको बिल दिनेछन् । सेयर खरीदका लागि आवेदन प्राप्त गर्ने बैंक वा वित्तीय संस्थाले सेयर बाँडफाँड नहुन्जेल झिक्न नपाउने गरी आवेदकको खातामा रहेको रकममध्ये दरखास्तमा माग गरे बमोजिमको सेयर किन्न लाग्ने रकम तत्काल रोक्का राख्छ । दरखास्त संकलन गर्ने समय सकिएपछि दरखास्त संकलनको विवरण निष्काशन तथा बिक्री प्रबन्धकलाई पठाइन्छ ।
सेयर बाँडफाँड भएको जानकारी वेभसाइटमार्फत
सेयर बाँडफाँड सम्पन्न भएपछि बाँडफाँड भएको जानकारी सम्बन्धित लगानीकर्तालाई एकमुष्ठ वा व्यक्तिगत रुपमा गराइन्छ । सेयर बाँडफाँडको जानकारी पत्रिकामार्फत नभई वेबसाईट मार्फत आउनेछ । सेयर बाँडफाँड भएको भोलिपल्ट प्रत्येक लगानीकर्ताले प्राप्त गरेको धितोपत्रको संख्या बमोजिमको रकम त्यस्तो लगानीकर्ताको खाताबाट तीन कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण (ट्रान्सफर) गरिदिन सम्बन्धित बैंक वा वित्तीय संस्थालाई सूचना पठाउने छन् । यसरी सूचना प्राप्त भएको तीन कार्य दिनभित्र सम्बन्धित बैंक वा वित्तीय संस्थाले आवेदकको रोक्का राखेको रकममध्ये सम्बन्धित लगानीकर्तालाई बाँडफाँडमा परेको सेयरबापतको रकम निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण (ट्रान्सफर) गरिदिनेछन् । आफ्नो खातामा जम्मा भएको दुई कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकले सेयर जारी गर्ने कम्पनीको खातामा सो रकम जम्मा गरिदिनेछ ।
सेयर बाँडफाँड भएको सात दिनभित्र डिम्याट खातामा सेयर
सेयर जारी गर्ने कम्पनीको खातामा रकम जम्मा भएको सात कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकले बाँडफाँड भएको अभौतिकृत धितोपत्र सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिदिनेछ । सेयर बाँडफाँड भएको भोलिपल्ट निष्काशन तथा बिक्री प्रबन्धकले आवेदकले आवेदन दिएको बैंक तथा वित्तीय संस्थालाई जानकारी दिने छ । यसरी जानकारी दिएको बढीमा तीन कार्य दिनभित्र सेयर नपर्ने आवेदकको रोक्का रकम फुकुवा गरिनेछ भने सेयर पर्ने आवेदकको बाँडफाँडमा परेको सेयरवापतको रकम निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण (ट्रान्सफर) गरेपछि बाँकी रकम फुकुवा हुनेछ ।
विभिन्न बैंकबाट निःशूल्क आस्वा सेवा
हाल विभिन्न बैंकहरुले फरक फरक शूल्क लिएर आस्वा सेवा प्रदान गरिरहेका छन् । आस्वा सेवाप्रति ग्राहकलाई आकर्षिक गर्न बैंकहरुबीच यतिसम्म प्रतिष्पर्धा बढिरहेको छ भने दुई सय रुपैयाँबाट सुरु भएको आस्वा सेवा चार महिना नबित्दै कतिपय बैंकमा निःशूल्क भइसकेको छ । बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत ५० हजार रुपैयाँसम्मको दरखास्तमा बढीमा १०० रुपैयाँ र सोभन्दा बढी रकमको दरखास्तमा बढीमा २५० रुपैयाँ सेवा शुल्क लाग्ने व्यवस्था छ । यद्यपि, पछिल्लो समय थुप्रै बैंकहरुले यो सेवा निशूल्क दिने घोषणा गरेका छन् भने कुनै बैंकले एक रुपैयाँ तथा कुनैले २० रुपैयाँमात्र शूल्क लिएर आस्वा सेवा दिने घोषणा गरेका छन् । हालै प्रभु बैंकले एक रुपैयाँमा आस्वा सेवा दिने घोषणा गरेको थियो । कुमारी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिद्धार्थ बैंक, सानिमा बैंक, कृषि विकास बैंक, माछापूछ्रे बैंक, एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, ओम डेभलपमेन्ट बैंक लगायतले निशूल्क आस्वाको घोषणा गरेका छन् । सिटिजन्स बैंकले भने २० रुपैयाँमा यो सेवा दिने बताएको छ । अन्य बैंकहरु पनि आस्वा सेवा दिने सम्बन्धमा प्रतिष्पर्धामा उत्रिएका छन् ।