Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एकसाताभरी के के भए बैंकिङ क्षेत्रमा (हेर्नुस् साताभरीका बैंकिङ समाचार)

२०७४ श्रावण २८ गते

हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

नोट केरमेट गर्नेलाई कैद
नोट तथा सिक्काको हिफाजत नगर्नेलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्मको जरिवाना हुने भएको छ । व्यवस्थापिका संसद्ले पारित गरेको फौजदारी संहितामा नोट वा सिक्का जलाउने, गाल्ने, च्यात्ने वा केरमेट गर्ने व्यक्तिलाई तीन महिनासम्म जेल सजाय वा पाँच हजार रुपैयाँसम्मको जरिवाना हुन सक्ने उल्लेख गरिएको छ । व्यवस्थापिका संसद्ले मुलुकु ऐन २०२० लाई विस्थापन गर्दै नयाँ कानून बनाएको हो ।

बीमा विधेयक संसदमा
जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा बीमामार्फत उपलब्ध गराउन बनेको स्वास्थ्य बीमा विधेयक तीन महिनापछि संसधमा छलफलका लागि प्रस्तुत भयो । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालेपछि पहिलो विधेयकका रुपमा स्वास्थ्य बीमा विधेयक संसधमा प्रस्तुत गरेका हुन् ।

चालू आर्थिक वर्षमा उठाउने आन्तरिक ऋणको तालिका सार्वजनिक
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा सरकारका लागि उठाउने आन्तरिक ऋणको तालिका सार्वजनिक गरेको छ । उक्त तालिकाअनुसार, सरकारले चालु बर्षका लागि एक खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ । जसमध्ये, ट्रेजरी बिल्समार्फत ६६ अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत ७२ अर्ब रुपैयाँ र बाँकी नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्रमार्फत उठाउने बताइएको छ ।

अनलाइन आस्वाको लहर
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धितोपत्रको दरखास्त लिने प्रकृयालाई अझ सरल, प्रभावकारी एवं सहज बनाउन अनलाइन मार्फत दरखास्त दिन सकिने सेवा सुरु गर्यो । राष्ट्रिय वाणिज्य बैंकले पनि शुक्रबारदेखि अनलाइन आस्वा सेवा सुरु गर्यो । त्यस्तै, टुरिजम डेभलपमेन्ट बैंकले पनि अनलाइन आस्वा सेवाको सुरुवात गर्यो । यसै साताको आइतबारदेखि एनआईसी एसिया बैंकले पनि अनलाइन आस्वा सेवाको सुरुवात गर्यो । 

सिद्धार्थ बैंकमा नयाँ सिईओ
सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा शम्भुनाथ गौतम नियुक्त भए । बैंक संचालक समितिको बुधबार बसेको बैठकले गौतमलाई विहीबारदेखि लागू हुनेगरी बैंकको आगामी कार्यकालका लागि सिईओ नियुक्त गरेको हो । यसअघि सिद्धार्थ बैंकमै डेपुटी सीईओको रुपमा कार्यरत गौतमलाई बैंकको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले कामु सिईओ नियुक्त गरेको थियो । तत्कालीन सिइओ सुरेन्द्र भण्डारीले राजीनामा दिएर कुमारी बैंकतिर लागेपछि सिद्धार्थ बैंकमा सिईओको पद रिक्त रहेको थियो ।  

अन्य

  • एनआईसी एशिया बैंक लिमिटेडले बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा वित्तीय पहुँच तथा सबलिकरणको लागि बैंकिङ्ग सेवा पुर्यायो ।
  • सिद्धार्थ बैंक लिमिटेडले भक्तपुरको कमलबिनायकमा नयाँ शाखा कार्यालयको स्थापना गर्यो ।
  • मुस्लीम समुदायको पवित्र धार्मिक स्थल साउदी अरबको मक्का मदिनामा २०७४ सालको हजयात्राका लागि गएका १,२५० जना नेपाली हजयात्रीहरुलाई प्रभु बैंक लिमिटेडले अमेरिकी डलर र साउदी रियाल सटही सुविधा उपलब्ध गरायो । 
  • इजी लिंक रेमिट्यान्स प्रा.लि. र कुमारी बैंक लिमिटेड बीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भयो ।