राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले साउन २७ गतेदेखि अनलाइन आस्वा सेवा सुरु गरेको छ । बैंकको ६८ जिल्लामा रहेका १७९ वटै शाखा कार्यालयहरुबाट यो सेवा निशुल्क रुपमा लिन सकिने बताइएको छ ।
जसअनुसार, अब प्राथमिक सेयर निष्काशन हुंदा ग्राहकले घरमै बसेर सेयर भर्न पाउनेछन् । सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको सम्बन्धित निक्षेप सदस्यतामार्फत मेरो सेयरको यूजर प्राप्त गरेका ग्राहकले बैंकमा उपस्थित नभईकन पनि सहज रुपमा अनलाइन सी–आस्बा सेवा मार्फत आइपीओ, एफपीओ तथा म्युचल फण्डहरुमा आवेदन दिन सक्ने भएका हुन् ।
आस्वा प्रणाली अन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्काशन हुँदा यस बैंकको जुनसुकै शाखा कार्यालयका खातावाला लगानीकर्ताहरुबाट सेयर खरिद गर्न चाहेमा अनलाइन वा दरखास्त फारम संकलन गरी फारममा उल्लेख भए अनुसारको रकम सम्बन्धित लगानीकर्ता खाताधनीकै खातामा रोक्का राखी धितोपत्र बाँडफाँड भएपश्चात लगानीकर्ताको नाममा कायम हुन आएको धितोपत्र बराबरको रकम सम्बन्धित धितोपत्र निष्काशनकर्ता कम्पनीमा पठाई बाँकी रकम सम्बन्धित खाताधनीले पुर्ववत रुपमा प्रयोग गर्न सक्ने गरी फुकुवा गरिने छ ।
हाल शहरी क्षेत्रमा मात्र सिमित रहेको धितोपत्र बजारको सेवा राष्ट्रिय वाणिज्य बैंकको ६८ जिल्लामा रहेका १७९ वटा शाखा कार्यालयबाट यो सेवा लिन सकिने हुँदा दुरदराजमा रहेका लगानीकर्ताहरुले पनि पुँजी बजारको लाभ लिन सक्नेछन् ।