२०७४ श्रावण २६ गते

लघुउद्यम सुधारका लागि ध्यान दिनुपर्ने कुराहरु :

ध्रुवराज पौडेल / नेपालमा साना तथा लघुउद्यमका क्षेत्रमा आशातित विकासका लागि बुँदागत रुपमा निम्न कुराहरुलाई ध्यान दिनुपर्ने देखिन्छ :
१. साना तथा लघुउद्यमका क्षेत्रमा काम गर्ने उद्यमीहरुको प्राविधिक ज्ञानको दायरा फराकिलो बनाउनु अत्यन्त जरुरी छ । देश विश्व व्यापार संघको सदस्य भइसकेको वर्तमान अवस्थामा वस्तु तथा सेवा उत्पादनको प्राविधिक ज्ञानविना गुणस्तरीय वस्तु उत्पादन हुन सक्दैन र सो उत्पादनले विश्व बजारमा प्रतिष्पर्धा गर्न पनि सक्दैन । 
२. सरकार र यस क्षेत्रमा काम गर्ने संस्थाहरुले मिलेर साना उद्यमीहरुलाई प्रोत्साहन र सम्वद्र्धन गर्नु नितान्त जरुरी छ । देशमा छरिएर रहेका उद्यमी र उद्योगहरुलाई एकत्रित गर्ने, एउटै वा उस्तै वस्तु तथा सेवाहरुको उत्पादन गर्ने उद्यमीहरुलाई परस्पर परिचित गराई उनीहरुलाई गुणस्तरीय वस्तु उत्पादन गर्न सहयोग गर्नुपर्छ । यसबाट साना व्यवसायीहरुमा आत्मविश्वासको विकास हुन गई व्यवसाय संचालनप्रति सकारात्मक भावना विकसित हुन जान्छ । 
३. बी मूल्य पर्ने र धेरै कामदारहरु खपत हुने उद्यमहरु जस्तै, वागवानी, अन्नबाली र बनजन्य उत्पादनहरु, सूचना प्रविधिको क्षेत्र शैक्षिक क्षेत्र, आधुनिक खेती प्रणालीमा आधारित वस्तु तथा सेवाका क्षेत्रहरु नेपालमा राम्रो सम्भावना बोकेका क्षेत्रहरु हुन् । यी क्षेत्रमा उत्पादनहरुलाई कच्चा पद्धार्थका रुपमै बाहिर पठाउने र प्रशोधनपश्चात् महँगो मूल्यमा हामी नेपालीहरुले किनेर उपभोग गर्नुपर्ने विडम्बनालाई समयमै पहिचान गरी प्रशोधिक वस्तु बाहिर पठाउने खालको रणनीति अख्तियार गर्नु जरुरी छ । यसबाट स्वदेशमै रोजगार सिर्जना हुने र विदेशी मुद्रा आर्जन गर्न सहयोग पुग्नेछ । 
४. नेपाली उद्यमीहरुमा बजारसम्बन्धि सूचनाको अभाव छ । सूचना प्राप्त भएपनि केन्द्र र बढीमा क्षेत्रसम्म मात्र सीमित देखिन्छ । तसर्थ, बढी मूल्य पर्ने वस्तु र सेवा उत्पादन गर्ने वास्तविक उद्यमीसम्म व्यवसाय र बजार सम्बन्धि सूचना पुर्याउन राज्यस्तरबाट आवश्यक पहलकदमीको जरुरत छ । 
५. साना तथा लघुउद्यमको विकासका लागि बैंक तथा वित्तीय संस्थाहरुको निकै ठूलो भूमिका हुन्छ । वस्तु तथा सेवाको उत्पादनका लागि संचालन पुँजीको व्यवस्था, वस्तुको निर्यातमा वित्त सेवा र वस्तु परिवहन अगावै र परिवहन पछिको वित्त सेवा व्यवसायीका लागि आवश्यक बैंकिङ सेवा हुन् । त्यस्तै, प्रतीतपत्र र जमानी जस्ता बैंकिङ उपकरणहरुको माध्यमबाट साना व्यवसायीहरु पनि लाभान्वित हुन सक्छन् । तसर्थ, राज्यले कम व्याजदरमा, सुलभ रुपमा कर्जा सेवा उपलब्ध गराउन देशका दुरदराजसम्म पनि बैंकिङ सेवा उपलब्ध गराई सहयोग गर्नुपर्छ । यस सरुम्बन्धमा वर्तमान सरकारको वित्तीय नीति व्यवसायीको पक्षमै रहेको देखिन्छ । 

अन्त्यमा, नेपालको भूअवस्थितिले पनि ठूला उद्योग स्थापना गरी छिमेकी राष्ट्र भारत र चीनसँग प्रतिष्पर्धा गर्न निकै मुस्किल छ । नेपालले आफ्नै देशको विशिष्ट अर्थ राख्ने, सांस्कृतिक महत्वका वस्तुहरुको उत्पादन र बजारीकरणमा विशेष धयान पुर्याउनुपर्छ । नेपाली हस्तकलाका सामग्रीहरु र केही विशेष खाले कपडाहरुको बजार विश्वमै चर्चित छ । नेपाली जडिबुटी, ग्रामीण पर्यटन, हिमाल आरोहणको विश्वस्तरीय तालिम र अध्ययन यस्ता क्षेत्र हुन्, जहाँ विश्वका अरु देशले चाहेर पनि हाम्रो प्रतिष्पर्धा गर्न सक्दैन । यस्ता क्षेत्रहरुको पहिचान गरी नेपाली युवायुवतीहरुलाई देशमै कम पुँजीमा रोजगारी सिर्जन ागर्न सकिने व्यवस्था मिलाउनु आजको अपरिहार्य आवश्यकता पनि हो ।