२०७४ श्रावण २५ गते

विद्यासुन्दरका दुई तानाशाही निर्णय : जनतालाई कर थोपर्ने, विलासी जीवन जिउने

अजय पंगेनी । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यको जीवनशैलीमा तानाशाहीपन झल्किएको भन्दै आलोचना सुरु भएको छ । जनतामाथि करको भार बोकाउने, अनि आफू भने विलासी जीवन जिउने प्रवृत्तिले उनलाई आलोचित बनाएको छ । दोहोरो कर भिराएको भन्दै व्यवसायीहरुको आक्रोशमा परेका विद्यासुन्दरले अर्को तानाशाही निर्णय गरेपछि भने आलोचनाले झन् चर्को रुप लिएको छ । 

झन्डै डेढ करोडको गाडीमा सरर
उनी अब झन्डै डेढ करोड रुपैयाँको महंगो गाडी चढ्ने भएका छन् । देशभरका पाँच महानगरमध्ये काठमाडौंमा मात्रै नयाँ गाडी किनिएको हो । भरतपुर, पोखरा र विराटनगरका मेयर तथा उपमेयरले पुरानै गाडी चढिरहेका छन् । हालसम्म उनीहरूले नयाँ गाडी किन्ने निर्णय गराएका छैनन् । छिमेकी महानगरपालिका ललितपुरका मेयर चिरिबाबु महर्जन २० वर्ष पुरानो टोयोटाको थोत्रो गाडीमा कुद्दा छेउबाट विद्यासुन्दर टोयोटाको फर्च्युनरमा सरर हुँइकिनेछन् । उनका लागि किनिएको गाडी काठमाडौंमा आइपुगेको छ । अबको एक महिनाभित्रमा उनी नयाँ गाडी चढ्नेछ । शाक्यले हालको ८५ लाखको गाडी फेरेर डेढ करोडको गाडी चढ्न लागेका हुन् । काठमाडौंकी उपमेयर हरिप्रभा खड्गीका लागि पनि ८० लाख रुपैयाँ भन्दा बढी पैसा पर्ने गाडी किनिएको छ । खड्गी अहिले एक वर्षपहिले किनिएको झण्डै ४० लाख रुपैयाँ मूल्यको गाडी चढिरहेकी छन् । 

व्यवसायीलाई दोहारो कर
आफू विलासी जीवनको मोहमा परेका शाक्यले व्यवसायीलाई भने दोहोरो करको मारमा पारेका छन् । काठमाडौँ मात्र नभएर मुलुककै ठूला भनिएका सहरहरु पोखरा र विराटनगर महानगरपालिकाले पनि करको दर बढाएपछि व्यवसायीहरु मारमा पर्ने भएका छन् । संघीयता कार्यान्वयनमा आएपछि दोहोरो कर तिर्नुपर्ने सन्त्रासमा भएका व्यवासयीहरुलाई सरकारले राहत दिँदै दोहोरो कर प्रणालीलाई हटाउने नीति ल्याउने भनेको थियो । उक्त नीति बनि नसक्दै काठमाडौँ महानगरपालीकाले करको दर बढायने । महानगरले करको दर अत्याधिक बढाएपछि पहिले नै स्थापित भइसकेका व्यवसायीहरु त कठिनाईमा परेका छन् नै नयाँ व्यवसाय सुरु गर्ने सोच बनाएकाहरु पनि हच्किएका छन् । ठूला भनिएका महानगरपालीकाले नै कर बढाएपछि अब नगरपालिका तथा गाउँपालिकाहरुले पनि त्यस्तै नीति अबलम्बल गर्लान् कि भन्ने त्रास व्यवसायीहरुमा फैलिएको छ । महानगरको सिको गर्दै अन्य स्थानीय तहमा पनि कर लागू भयो भने पूराना व्यवसायीहरु मात्र नभएर नयाँ व्यवसाय सुरु गर्ने तरखरमा रहेकाहरु पनि अन्यौलमा पर्नेछन् । 

मुलुकको केन्द्र तथा सबैभन्दा ठूलो सहर काठमाडौँका मेयरको नाताले विद्यासुन्दर शाक्यले थुप्रै कुराहरुमा ध्यान दिनुपर्ने देखिन्छ । व्यवसायीहरुको मूख्य कर्मथलो र मुलुकभरिका युवाहरुको सपना पूरा गर्ने सहर बनिरहेको काठमाडौँ सहरको अव्यवस्थितपनलाई कम गर्दै सरसफाई, खानेपानी, हरियाली, यातायात व्यवस्थापन, पार्किङ, खुला ठाउँ लगायतको अभावलाई हटाउनुपर्ने चुनौति शाक्यसमक्ष छ । अनेकौँ समस्याको बीचमा उभिएर सुधारात्मक ढ्रगले सबैलाई मिलाएर लानुपर्ने जिम्मेवारी पाएका मेयरले सुरुवातमै यसरी आलोचित हुने काम गर्नुलाई तानाशाही निर्णयको रुपमा विश्लेषण गरिएको छ ।