माछापुच्छ्रे् बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब ३० करोड १० लाख रुपैयाँ मुनाफा आर्जन गरेर अर्वपति क्लबमा प्रवेश गरेको छ । अघिल्लो वर्ष ८९ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा गरेको बैंकले यसपाली मुनाफामा ४४ दशमलव ८७ प्रतिशत प्रगति गरेको हो ।
छ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा दुई अर्ब ५१ करोड ६७ लाख रुपैयाँ राखेको छ । त्यस्तै निक्षेपमा ११ दशमलव ५३ प्रतिशतले वृद्धि गरी ५८ अर्ब ६२ करोड ९० लाख रुपैयाँ संकलन गरेको बैंक कर्जामा १५ दशमलव ९० प्रतिशतले वृद्धि गरी ५१ अर्ब ८६ करोड ६७ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी २५ दशमलव २० प्रतिशतले बढेर दुई अर्ब ३२ करोड ५१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा ४१ दशमलव ४९ प्रतिशतले वृद्धि भई एक अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा १३ करोड ६० लाख रुपैयाँ छुटाएको छ भने १३ करोड ४६ लाख रुपैयाँ राइटव्याक गरेको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव १८ प्रतिशतले घटेर शुन्य दशमलव ३७ प्रतिशत कायम भएको छ भने पूँजीकोष अनुपात ५ दशमलव २५ प्रतिशतले बढेर १७ दशमलव ४८ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९८ पैसा, मूल्य आम्दानीको अनुपात १५ दशमलव ०२ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३६ दशमलव ४४ रुपैयाँ र तरलता अनुपात २६ दशमलव २९ प्रतिशत रहेको छ ।

