बैंकिङ खबर / ’बस्तु विनिमय बजारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७३’ ब्यवस्थापिका संसदबाट पारित भएको छ । तीन वर्षअघि पहिलो पटक संसदमा दर्ता भएको विधेयक आइतबार पारित भएको हो । बस्तु विनिमयको विकास तथा सञ्चालन, लगानीकर्ताको संरक्षण, बस्तुको कारोबार, राफसाफ तथा फस्र्यौट र वेयर हाउस सञ्चालन सम्बन्धि व्यवसायलाई नियमन गर्न विधेयक मस्यौता गरिएको थियो । तर, सरकारको प्राथमिकतामा नपर्दा विधेयक पारित हुन सकेको थिएन ।
कारोबार सञ्चालन
विधेयकले बजारको सुपरिवेक्षण तथा नियमनको अधिकार नेपाल धितोपत्र बोर्डलाई दिएको छ । विधेयकमा बजार सञ्चालकहरुले कारोबार अनुमति पाएको १८० दिनभित्र कारोबार सुरु गरिसक्नु पर्ने व्यवस्था गरिएको छ । पूर्वाधार विकास नगरी कारोबार सञ्चालन गर्न नपाइने र पुराना संस्थाहरुले समेत बोर्डसँग स्वीकृति लिएर मात्र कारोबार थाल्नुपर्ने भएको छ । कम्पनीको कम्तिमा चुक्ता पूँजी ५० करोड रुपैयाँ तोकिएको छ । यसलाई आवश्यकताअनुसार बढाउन सकिने बताइएको छ ।
सञ्चालक नियुक्ति
त्यस्तै, कम्पनीको सात सदस्यीय सञ्चालक समितिमा कम्तिमा दुई जना वाहिरबाट स्वतन्त्र सञ्चालक चयन गर्नु पर्ने वाध्यत्मक व्यवस्था विधेयकमा छ । यस्तो कम्पनीको सञ्चालक बन्द अर्थशास्त्र, बाणिज्य शास्त्र वा कानुन विषयमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको र ३५ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ । स्वतन्त्र सञ्चालक नियुक्तिका लागि रिक्त पदको तेब्बर संख्यामा नाम बोर्डमा सिफारिस गर्नुपर्ने र बोर्डले उपयुक्तता हेरेर नियुक्त गर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, कम्पनी प्रमुख कार्यकारी अधिकृत स्नातकोत्तर उतीर्ण भई सात बर्षको कार्य अनुभव समेत भएको हुनुपर्नेछ । कारोबारको राफसाफ तथा फर्स्र्योटको काम गर्न छुट्टै व्यवसायी नियुक्त गर्नुपर्ने, वेयर हाउस पनि तोक्नुपर्ने लगायतका व्यवस्था विधेयकमा छ ।
सेयर स्वामित्व
कम्पनीको सेयर एक व्यक्ति तथा संस्थाले पाँच प्रतिशत लिन पाउनेछन् भने विदेशी रणनीतिक साझेदारले भने ५१ प्रतिशतसम्म सेयर पाउने व्यवस्था छ ।
कम्पनीले बजारबाट लगानीकर्तालाई हुन सक्ने सम्भावित प्रणालिगत जोखिमबाट सुरक्षित गर्न लगानीकर्ता संरक्षण कोष स्थापनालाई विधेयकले अनिवार्य गरेको छ ।
कसैले गलत काम गरेमा पाँच बर्ष जेल र पाँच लाख जरिवानाको व्यवस्थासमेत गरिएको छ ।


