जीवन बीमा कम्पनीमा हजारभन्दा बढीले रोजगारी पाउने भएका छन् । नेपालको बीमा क्षेत्रमा १० वटा जीवन बीमा कम्पनीहरु थपिँदैछ । तीन कम्पनीहरुमा उक्त संख्यामा कर्मचारी आवश्यक पर्ने अनुमान गरिएको छ ।
सञ्चालनमा आउने तरखरमा रहेका १० कम्पनीमध्ये, तीन वटा जीवन कम्पनीहरु छिटै नै थपिँदैछन् । जीवन बीमा कम्पनीको लाइसेन्सका लागि अर्थ मन्त्रालयबाट स्वीकृति पाएका १० मध्ये तीनओटा कम्पनीलाई बीमा समितिले सञ्चालन इजाजतपत्र (अपरेटिङ लाइसेन्स) दिएको छ । आईएमई लाइफ, ज्योति लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सले तोकिएको २ अर्ब रुपैयाँ चुक्तापूँजी र्पुयाएर असार २० मा लाइसेन्स पाएका थिए । अब छिटै नै व्यवसाय थाल्ने तयारीमा यी कम्पनीहरु छन् । ६ महीनाभित्र आवश्यक पूर्वाधार निर्माण, कर्मचारी व्यवस्थापन, पुनर्बीमा करार, बीमाङ्कीको नियुक्तिलगायत शर्त पूरा गरेपछि यी कम्पनीहरुले व्यवसाय शुरू गर्ने प्रमाणपत्र पाउने पाउनेछन् । व्यवसाय सुरु गर्नका लागि कर्मचारीको व्यवस्थापन गरिसक्नुपर्ने भएकाले छिटै नै यी कमपनीहरुले कर्मचारीको माग गर्नेछन् ।
यसका अलावा अपरेटिङ लाइसेन्सका लागि सन नेपाल लाइफ इन्स्योरेन्सले पनि फाइल दर्ता गराएको छ । उक्त कम्पनीको चुक्तापूँजीको अवस्था र कागजात छानबिन गरेर समितिको बोर्ड बैठकले लाइसेन्सबारे निर्णय गर्नेछ । यसबाहेक, रिलायबल, सिटिजन, स्टार, रिलायन्स, सानिमा र महालक्ष्मी गरी छ वटाको लाइसेन्स प्रक्रिया सुरु हुन बाँकी छ । यी सबै कम्पनीले आवश्यकताअनुसारका कर्मचारी नियुक्त गर्नुपर्दा ठूलो संख्यामा कर्मचारी आवश्यक पर्ने देखिएको छ ।
