नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनको नीति ल्याएपछि बैंक तथा वित्तीय संस्थाको संख्या खुम्चिँदै गएको छ । यो अवधिमा १५५ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्रक्रियामा गएका छन् । तीमध्ये, मर्जर तथा प्राप्तीबाट ११२ वटा संस्थाहरुको इजाजत खारेज भई ४३ संस्था कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७२।७३को मौद्रिक नीतिमार्फत मर्जर तथा एक्विजिसनको योजना अघि सारेको थियो ।
मर्जरको नीति आएपछि वाणिज्य बैंक एउटा मात्रै घटेको छ भने अधिकांश विकास बैंकहरु र केही फाइनान्स कम्पनीहरु विलय भएका छन् भने कतिपय बैंकहरु अझै पनि विलय हुने क्रममा छन् । लघुवित्त संस्थाको संख्या भने बढ्ने क्रममा रहेको छ । राष्ट्र बैंकका अनुसार, असार २२ गतेसम्ममा नेपालमा क वर्गका बैंक अर्थात वाणिज्य बैंकहरु २८ वटा रहेका छन् भने ख वर्गका बैंक तथा विकास बैंकहरु ४४ वटामा कायम भएका छन् । त्यस्तै, ग वर्गका वित्त कम्पनीहरु ३० वटा छन् । असार २२ सम्ममा घ वर्गका लघुवित्त संस्थाहरु ५१ वटा रहेकोमा त्यसयता दुई वटा थपिएर ५३ वटा पुगेको छ । जसअनुसार, नेपालमा हाल सञ्चालनमा बैंक तथा वित्तीय संस्थाहरुको संख्या १५५ पुगेको छ ।
बैंकहरुको संख्या घटेको देखिए तापनि शाखा संख्या भने घटेको छैन । ०७४ जेठ मसान्तसम्मको तथ्यांक हेर्दा, २८ वटा वाणिज्य बैंकहरुको मुलुकभर दुई हजार एक सय १६ वटा शाखा रहेका छन् । त्यस्तै, विकास बैंकहरुको आठ सय पाँच, वित्त कम्पनीहरुको एक सय ४८ र लघुवित्त संस्थाहरुको एक हजार आठ सय २५ गरी कुल शाखा संख्या चार हजार आठ सय ९४ वटा पुगेको छ । एटीएम संख्या भने दुई हजार ४७ पुगेको छ ।
