रुपा कोइराला । नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनको नीति ल्याएपछि १५५ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्रक्रियामा गए । तीमध्ये, मर्जर तथा प्राप्तीबाट ११२ वटा संस्थाहरुको इजाजत खारेज भई ४३ संस्था कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार, असार २२ गतेसम्ममा नेपालमा २८ वटा वाणिज्य बैंक, ४४ वटा विकास बैंक र ३० वटा फाइनान्स कम्पनीहरु सञ्चालनमा छन् ।
मर्जरको नीति आएपछि वाणिज्य बैंक एउटा मात्रै घटेको छ भने अधिकांश विकास बैंकहरु र केही फाइनान्स कम्पनीहरु विलय भएका छन् । कतिपय संस्थाहरु अझै पनि विलय हुने क्रममा रहेका छन् । कतिपयले भने आफ्नै कसरतमा राष्ट्र बैंकले तोकेको पुँजी पुर्याउने योजनाअनुरुप गृहकार्य गरिरहेका छन् । पुँजीवृद्धिको नीति ल्याउँदा राष्ट्र बैंकले वाणिज्य बैंकबाहेक सबै बैंकहरु विलय हुने अपेक्षा गरेको थियो । यद्यपि, साना विकास बैंक तथा फाइनान्स कम्पनीहरु विलय भएपनि राष्ट्रिय स्तरका प्रायः विकास बैंकहरु आफैँ चुक्तापुँजी पुर्याउने योजनामा छन् । यसबीचमा केही राष्ट्रिय स्तरका विकास बैंकहरु वाणिज्य बैंकमा विलय भएका छन् भने केही विलय हुने क्रममा छन् । मर्जरको नीति आउनुअघि ८८ वटा रहेको विकास बैंकको संख्या ४४ मा झरेको छ भने अझै पनि घट्ने क्रममा रहेको छ ।
राष्ट्रिय स्तरका एक दर्जन विकास बैंक वाणिज्य बैंकमा गाभिए
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले चारवटा राष्ट्रिय स्तरका विकास बैंकलाई एकैपटक गाभ्यो । एनसीसीले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकले गाभेको हो ।
१० वटा वित्तीय संस्थालाई आफूमा मिलाईसकेको ग्लोबल आईएमई बैंकले राष्ट्रिय स्तरका दुई विकास बैंक गाभ्यो । ग्लोबल आईएमईले प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल डेभलपमेन्ट बैंकलाई गाभेको हो ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सरकारी स्वामित्वकै एनआईडीसी डेभलपमेन्ट बैंकलाई गाभ्यो भने नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई गाभ्यो । यी दुई बैंकले चुक्तापुँजी आठ अर्बमाथि हुँदैहुँदै पनि राष्ट्रिय स्तरका विकास बैंकहरुलाई गाभेर सबल बनेका हुन् ।
यता, पटकपटकको मर्जरमा असफलता हात पारेपछि आफैँ चुक्तापुँजी पुर्याउन कम्मर कसेको जनता बैंकले राष्ट्रिय स्तरका त्रिवेणी विकास बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकलाई गाभ्यो । पुँजीवृद्धिको क्रममा थुप्रै वित्तीय संस्थालाई गाभेको कुमारी बैंकले राष्ट्रिय स्तरको काष्टमण्डप डेभलपमेन्ट बैंकलाई गाभ्यो । लक्ष्मी बैंकले पनि राष्ट्रिय स्तरको प्रोफेशनल दियालो विकास बैंकलाई गाभ्यो ।
आफैँ मजबुत बन्दै केही विकास बैंक
विकास बैंकहरु वाणिज्य बैंकहरुमा विलय हुने मात्र नभएर राष्ट्रिय स्तरका विकास बैंकहरु नै एकआपसमा गाभिने तथा साना विकास बैंकहरुलाई गाभ्ने क्रम पनि त्यत्तिकै छ । हालै भिबोर सोसाईटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एकआपसमा गाभिएर लुम्बिनी विकास बैंकको नामबाट एकीकृत कारोबार सुरु गरे । यता, राष्ट्रिय स्तरको फेवा विकास बैंकले क्षेत्रीय स्तरको गणडकी विकास बैंकसँग मर्जरमा गएर गण्डकी विकास बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्यो ।
राष्ट्रिय स्तरकै दुई विकास बैंकहरु महालक्ष्मी र यती एकआपसमा गाभिएर महालक्ष्मी विकास बैंक बने । राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकले क्षेत्रीय स्तरको मनास्लु विकास बैंकलाई गाभ्यो । सेवा विकास बैंकले कामना विकास बैंकसँग मर्जरमा गएर सेवा कामना विकास बैंकको नामबाट कारोबार सुरु गर्यो । त्यस्तै, गरिमा विकास बैंक पनि वाणिज्य बैंकमा विलय नभई आफैँ मजबुत बनेर उभिएको छ । पुँजीवृद्धिको क्रममा यो बैंकले शुभेच्छा विकास बैंकलाई गाभेको थियो ।


