चालु आर्थिक वर्षभित्र क वर्गका सबै वाणिज्य बैकहरुलाई चुक्ता पुँजी आठ अर्ब पुर्याउन नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिपालना गर्नेमा नेपाल बैंक लिमिटेड् दोश्रो बन्न सफल भएको छ । नेपालको वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत केही अवधि करार व्यवस्थापन र केही अवधि नेपाल राष्ट्र बैंकको व्यवस्थापनअन्तर्गत संचालित भई विगत दुई वर्षयता खुल्ला प्रतिष्पर्धाबाट नियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहको नेतृत्वमा चलिरहेको यस बैंकको चुक्ता पुँजी हाल आठ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । पुरानो कर्जा असुली, सम्पत्ति विक्री र कार्यकुशलता वृद्धिमा बैंकद्वारा गरिएको अथक प्रयासबाट नियामक निकायद्वारा निर्धारित न्युनतम सीमाभन्दा केही बढी चुक्ता पुँजी पुर्याउन सफल भएको बैंकले जनाएको छ ।
स्मार्ट शाखा सेवा सुरु गर्ने तयारी
वि.सं १९९४ सालमा स्थापित भई नेपालको वित्तीय सेवा प्रवाहमा अगुवाई गर्दै आठ दशक यता नेपालको आर्थिक सामाजिक विकासमा अविच्छिन्न रुपमा संलग्न रही आएको यस बैकमा नेपाल सरकारको ६२.५५ प्रतिशत स्वामित्व रहेको छ । हाल देशका १३१ शाखामार्फत साढे १५ लाख ग्राहकलाई प्रत्यक्ष सेवा पुर्याइरहेको यस बैंकले ग्राहक सेवामा परिष्कार ल्याउने उद्देश्यले स्मार्ट शाखा सेवा आरम्भ गर्दै छ । स्मार्ट शाखा अवधारणा अनुसार यी बैकिंग शाखाहरुमा आउट र वातावरण आकर्षक बनाई उत्कृष्ठ कर्मचारी व्यवहारसहितको आधुनिक तथा गुणस्तरीय सेवा प्रवाहका माध्यमले ग्राहकलाई अधिकतम सन्तुष्टि दिलाउने प्रयत्न गरिने छ । प्रथम चरणमा २५ शाखाबाट कार्यान्वयनमा ल्याइृने यो सेवा चरणवध्द रुपमा क्रमशः विस्तार गर्दै लगिने छ ।