कसमस डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभेर सांग्रिला डेभलपमेन्ट बैंकले यही असार ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । यसअघि, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई पनि खपिरद गर्ने निर्णय गरेको बैंकले नेपाल कम्युनिटीलाई गाभ्ने प्रस्ताव खारेज गरी कसमसलाई मात्र गाभेर एकीकृत कारोबार सुरु गर्न लागेको हो । एक्विजिसनपछि बन्ने संस्थाको नाम सांग्रिला डेभलपमेन्ट बैंक नै रहने र केन्द्रीय कार्यालय पनि साविकको सांग्रिलाको केन्द्रीय कार्यालय नै रहने बताइएको छ ।
कसरी पुग्छ पुँजी ?
यसअघि, सांग्रिलाले कसमस र नेपाल कम्युनिटीलाई प्राप्ती गरी त्यसपश्चात् कायम हुने चुक्तापुँजीको ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर जारी गर्ने भनेको थियो । अब सांग्रिलाले कसमसलाई प्राप्ती गरेपछि कायम हुन आउने चुक्तापुँजी एक अर्ब ३४ करोड ८४ लाख ७४ हजार सात सय ५० रुपैयाँको ८० प्रतिशतले हुने एक अर्ब आठ करोड ६७ लाख ७९ हजार आठ सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेर चुक्तापुँजी दुई अर्ब ४४ करोड ५२ लाख ५४ हजार पाँच सय ५० रुपैयाँ पुर्याउनेछ । बाँकी साढे पाँच करोड बरारको पुँजी बैंकले चालू आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गरेर पुर्याउनेछ ।