नेपालमा पनि मोबाइल पेमेन्ट सिस्टमको सुरुवात हुने भएको छ । नेपाल राष्ट्र बैंकबाट पहिलोपटक मोवाइल पेमेन्ट सिस्टम संचालनका लागि प्रभु टेक्नोलोजीलाई लाइसेन्स दिइएको हो । विश्वमा मोबाइल मनीको अवधारण सुरु भएको सात वर्षपछि नेपालमा पनि यो प्रविधिको सुरुवात हुन लागेको हो । लामो समयको अध्ययनपछि यो प्रकृया अघि बढेको छ । यसका लागि नेपाल दुरसंचार प्राधिकरण र नेपाल राष्ट्र बैंंकको टोलीले सबै गृहकार्य सम्पन्न गरेको छ ।
मोबाइल मनी के हो ?
मोबाइल मनी भनेको मोबाइलबाटै कारोबार गर्न सकिने व्यवस्था हो । यो विद्युतीय वालेट सेवा हो । । मोवाइल पेमेन्ट सिस्टम अन्तरगत मोवाइल वालेट डिजिटल फाइनान्सको सबैभन्दा लेटेस्ट, विकसीत र सरल प्रविधि हो । यस सेवामा प्रयोगकर्ताले आफ्नै मोबाइल प्रयोग गरी बैङ्क खातामा वा आफ्नै मोबाइल खातामा पैसा जम्मा गर्न, अरूलाई पैसा पठाउन र अरूबाट पैसा प्राप्त गर्नेलगायत कार्य गर्न सक्छन् । यसै वालेटबाट रेमिट्यान्स, स्कूलको फि, टेलिकमको शुल्क, मोवाइल रिचार्ज, डिसहोम, सिम टीभी विजुलीको बील तथा खानेपानीको वील तिर्न सकिन्छ भने फिल्मको टिकट खरीद गर्न पनि सकिन्छ । त्यसबाहेक जुनसुकै पसलबाट जुनसुकै सामान खरीद गर्न सकिन्छ । यो प्रविधि सरल भएका कारण हरेकजसो चिया पसल, किराना पसल र अन्य ससाना व्यबसायीहरुले प्रयोग गर्न सकिने प्रविधि हो । यसका लागि मोवाइल फोन भएपछि अरु केही आबश्यक पर्दैन । यो सेवा जुनसुकै फोनमा पनि प्रयोग गर्न सकिन्छ ।
यसरी सुरु भयो मोबाइल मनीको अवधारणा
मोबाइल मनीको अवधारणा सबैभन्दा पहिला केन्यामा प्रयोग भएको थियो । सन् २००७ को मार्च महीनामा बेलायती दूरसञ्चार कम्पनी भोडाफोनको केन्याली सहायक कम्पनी सपारीकमले त्यहाँ एम–पेसा सेवा लञ्च गरेको थियो । सफारीकमले एक दशकअघि शुरूमा प्रयोगकर्ताहरूबीच ससानो रकम भुक्तानीका लागि मात्रै यो सेवा शुरू गरेको थियो । तर पछि यसमा फाइनान्सिङ र माइक्रोफाइनान्सिङको सुविधा पनि दिइयो । हाल यो सेवामा सीमापार रकम स्थानान्तरण, कर्जा र स्वास्थ्य प्रावधान समेत समाविष्ट छ । अहिले यो सेवा करीब ८० प्रतिशत केन्यालीहरूले प्रयोग गरिरहेका छन् । त्यहाँको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २५ प्रतिशतभन्दा बढी यही सेवामार्फत प्रवाह हुने गरेको छ । केन्यापछि अफगानिस्तान, दक्षिण अफ्रिका, भारत हुँदै हाल विश्वका थुप्रै मुलुकहरुमा मोबाइल मनी विस्तार भइसकेको छ ।
मोबाइल पेमेन्ट सिस्टमका फाइदाहरु
क्यास लेस ट्रान्जेक्शनको आवश्यकतालाई यसले सहजिकरण गर्ने छ । खल्तीमा पैसा पनि बोक्ने कार्ड पनि बोक्ने प्रचलनलाई यो प्रविधिले अन्त्य गर्ने विश्वास लिइएको छ । अहिले एटिएममा गएर पैसा निकाल्ने अनि पसलमा गएर त्यहि पैसाले रिचार्ड कार्ड किन्ने अबस्था छ । तर मोवाइल पेमेन्ट सिस्टमले डिजिटल फाइनान्सको सरल एवं सहज व्यबस्था भित्राउने छ । जसबाट अब नेपालमा पनि मोवाइलमै पैसा बोकेर हिड्न मिल्ने भएको छ । तपाईको मोवाइलमा रकम जम्मा गरेर त्यही रकमबाट विभिन्न सामान खरीद गर्ने तथा स्कूल कलेजको शुल्क तिर्ने, अन्य विभिन्न बिल तिर्ने लगायतका सुविधा पाउन सक्नुहुन्छ । यो सेवाका लागि करिव १ बर्षदेखि राष्ट्र बैंकले होमवर्क गरेको थियो । विदेशी टेक्नोलोजीलाई नेपालमा भित्राएपछि यसबाट नेपालमा पनि थप सरल बैंकिङ सेवा सुरु हुने भएको हो । यस प्रकृया अनुसार मोवाइलबाटै सबै कुराको पेमेन्ट हुन्छ ।
प्रभु टेक्नोलोजीको सेवा कसरी लिने ?
प्रभु टेक्नोलोजी नेपालको बैंकिङ ग्रुप अन्तरगतको प्रभु ग्रुपद्धारा संचालिन कम्पनी हो । यस कम्पनीले मोवाइल पेमेन्ट सिस्टम सुरु गरेको हो । जसले मोवाइल पेमेन्ट सिस्टमको सबै जिम्मेवारी लिएको छ । यसको प्रयोगका लागि प्रभु बैंंकमा रहेको खाताबाट आफ्नो मोवाइलमा रकम जम्मा गर्न सकिन्छ भने अन्य बैंकको खातामा रहेको रकम पनि जम्मा गर्न सकिन्छ । साथै मोवाइलमा जम्मा गरेको रकम सिधै कुनै पनि बैंकको खातामा पठाउन सकिन्छ । यसबाहेक विदेशबाट नेपालमा रकम पठाउने व्यक्तिले सिधै मोवाइलमा रकम पठाउन सक्ने छ । तर प्रभु बैंकमा खाता रहेको हुनु पर्ने छ । खाताबाट मोवाइलमा पठाइसकेको रकम भने जुनसुबै बैंकको खातमा पनि जम्मा गर्न सकिन्छ । त्यसैगरी अन्य बैंकको खातामा रहेको रकम पनि मोवाइलमा पठाउन तथा अर्को बैंकका जम्मा गर्न सकिन्छ ।



