कृषि विकास बैंक लिमिटेडले आफ्नो आधुनिक बैंकिङ्ग सेवा सहरदेखि गाउँसम्म विस्तार गरेको छ । बैंकले देशभर छरिएर रहेका आफ्ना ग्राहकहरुलाई आधुनिक प्रविधियूक्त बैंकिङ्ग सेवा उपलव्ध गराउने उद्देश्य अनुसार नयाँ सेवा तथा सुविधाहरु थप्दै लग्ने क्रममा एसएमएस बंैकिङ्ग, मोबाइल बैंकिङ्ग र भिसा कार्ड सेवाहरु उपलब्ध गराइसकेको जानकारी दिएको छ ।
नेपाल सरकारको अधिक सेयर हिस्सा रहेको यस बैंकले आफ्ना ग्राहकहरुको बचतमा समुचित व्याज उपलव्ध गराउँदै आएको छ । साथमा कानुनी रुपमा स्थापित संघ संस्थाहरुमा कार्यरत कर्मचारीहरुका लागि “कर्मचारी निवृत्तीभरण बचत खाता” नामक नयाँ बचत योजना लगायत बचत तथा मुद्दती खातामा आकर्षण व्याज उपलव्ध गराउने गरी विविध नाम दिई बचत तथा मुद्दती योजना समेत ल्याएको छ ।
ग्राहकहरुको सुविधालाई ध्यानमा राखी उल्लेखित सुविधा तथा सेवाहरु देशका दुर्गम ठाउँमा रहेका कृषि विकास बैक लि.का शाखाहरुबाट नियमित रुपमा उपलव्ध गराएको बैंकले जनाएकाृ छ । पर्याप्त जानकारीको अभावमा बैंकिङ्ग सेवाबाट बञ्चित भएका आम नेपाली जनतालाई बैंकिङ्ग सेवाबारे जानकारी गराउने अभिप्रायले “वित्तीय साक्षरता कार्यक्रम” संचालनमा ल्याई बैंकिङ्ग पहुंचमा सर्वसाधरणलाई समेटने गरी आफ्ना कार्यक्रमहरु समेत बैंकका शाखाहरुबाट नियमित रुपमा संचालन भइरहेका छन् । साथमा एटीएम सेवालाई सर्वसाधरणको पहुंच हुने गरी ग्राहकहरुको माग अनुसार हाल ४१ वटा एटीएमबाट सेवा उपलव्ध गराउँदै आएको छ । एटीएम सेवालाई ग्राहकको माग अनुसार थप्दै लग्ने नीति बैंकले लिएको छ ।