अजय पंगेनी । सरकारले आज आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्दैछ । नयाँ बजेट घोषणा गरेपनि कार्यक्रम भने पूरानैलाई निरन्तरता दिने सरकारको योजना छ । ०७२ मा जारी नेपालको संविधानले हरेक वर्ष जेठ १५ बजेट संसद्समक्ष प्रस्तुत गर्ने व्यवस्थाअनुरूप अर्थमन्त्री कृष्णबहादुर महराले बजेट प्रस्तुत गर्ने तयारी गरेका हुन् ।
चालू आर्थिक वर्षका लागि १० खर्ब ४८ अर्बको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि १२ खर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरिरहेको छ । भर्खरै संघीयता गएको मुलुकमा संघीयता कार्यान्वयन गर्ने गरी बजेट ल्याउनुपर्ने भएकाले बजेटको आकार बढाएको बताइएको छ ।
अर्थ मन्त्रालयले मुलुकको सामाजिक एवम् आर्थिक विकासलाई केन्द्रित गरेर बजेटको तयारी गरिरहेको छ । ऊर्जा सङ्कट अन्त्य भएसँगै उद्योगी व्यावसायीमा उत्साह जागेको र सरकारले अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनाका कार्यप्रगति सन्तोषजनक छ । राष्ट्रिय गौरवका आयोजना लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता सकारात्मक देखिएका छन् । यस्ता साकारत्मक कार्यलाई निरन्तरता दिइने अर्थको भनाइ छ । कर तथा करका दरमा कुनै पनि परिर्वतन नगर्ने सरकारी योजना छ । आर्थिक क्षेत्र अङ्क गणित मात्र होइन, आमजनता तथा निजी क्षेत्रको मनोविज्ञान पनि हो भन्ने विषयलाई आधार मानेर सरकारले लगानीका लागि पूर्ण वातावरण बनाउने गरी बजेट बनाउन लागेको बुझिएको छ ।
कुल बजेटको ६० प्रतिशतभन्दा बढी बजेट स्थानीय तहलाई दिने सरकारी तयारी भइरहेको छ । स्थानीय तहलाई नै सम्पूर्ण रुपमा खर्च गर्न पाउने गरी बजेटको व्यवस्था गर्न लागिएको हो । यसअघि मन्त्रालय र मातहतका निकायले बजेट, नीति तथा कार्यक्रम बनाउने र सोही आधारमा स्थानीय क्षेत्रमा काम हुने गरेको थियो ।
