खोटाङ । राष्ट्रिय मानव अधिकार आयोगले खोटाङको केपीलासगढी गाउँपालिका–४, बाक्सिलास्थित नेपाल खाद्य संस्थानको डिपो कार्यालयमै कुहिएर रहेको चामल तत्काल नष्ट गर्न खाद्य संस्थान र प्रशासनलाई निर्देशन दिएको छ । उत्तरी क्षेत्रमा रहेको खाद्य संस्थानको डिपोमा ४६ क्विण्टल ९० केजी चामल कुहिएको पाइएपछि आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले तत्काल गाडेर नष्ट गर्न निर्देशन दिएको हो । कुहिएर किरा परेको चामल गन्हाउन थालेकाले तत्काल नष्ट नगरे मानव स्वास्थ्यमा समेत असर पर्ने खतरा बढेकाले नेपाल खाद्य संस्थान प्रधान कार्यालय काठमाडौं, नेपाल खाद्य संस्थान अञ्चल कार्यालय, लहान र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराइएको आयोगले बताएको छ ।
डिपोमा आव २०७१/०७२ मा स्टक गरिएको ४६ क्विण्टल ९० केजी चामलको मूल्य बजारको भन्दा महङ्गो भएपछि विक्री नहुँदा गोदाममै कुहिएको हो । सुरक्षित भण्डारणको अभावमा कुहिएको चामल मानवका लागि उपयोग गर्न नमिल्ने भएकाले नष्ट गर्न निर्देशन गरिएको राष्ट्रिय मानवअधिकार आयोगको उपक्षेत्रीय कार्यालय खोटाङका मानवअधिकार सहायक लोकनाथ घिमिरेले बताए । ‘कुहिएर किरा परेको चामल तत्काल जमिनमा गाड्ने व्यवस्था मिलाएर जानकारी गराउन भनेका छौँ,’ उनले भने, ‘कुहिएको चामल पशुपंक्षीलाई समेत दिन नहुने अवस्थाको भएकाले नष्ट गर्न भनेका हौँ ।’ स्थानीय तहको मतदानपूर्वको अवस्था विषयमा अनुगमन गर्नका लागि पुगेको आयोगको टोलीले चामल सडेको गुनासो आएपछि जेठ १ गते डिपो कार्यालयको अनुगमन गरेको थियो । विक्री नभए पनि कर्मचारीले सुरक्षित तरिकाले भण्डारण गर्नेतर्फ ध्यान नदिँदा ठूलो परिमाणको सोना मन्सुली चामल सड्न पुगेको हो ।
भूकम्प र भारतीय नाकाबन्दीका समयमा चाहिने भन्दै स्टक राखिएको चामल बजारको भन्दा महङ्गो हुँदा गोदाममै थन्किएको डिपो प्रमुख अनिलकुमार महतोले बताए । सो चामलको मूल्य प्रतिकेजी रू. ४४ तोकिएको थियो । केही समयपछि प्रतिकेजी रू. ४२ मा झारेपनि चामल बिक्री नभएको डिपोले बताएको छ । अधिकांश बोराको चामल कुहिएर डल्लो परेको, सडिएको, कालो भएको र गन्हाउने भएको नेपाली काङ्ग्रेस खोटाङका जिल्ला सदस्य तथा स्थानीयवासी समिर राईले बताए । ‘डिपोको चामल बजारको भन्दा महङ्गो भएपछि गत वर्ष विक्री भएन ।’ उनले भने, ‘तत्कालै मूल्य घटाउन सर्वदलीय बैठकले आग्रह ग¥यौँ, केही रुपैयाँ घट्यो पनि । तर बजारको भन्दा महङ्गो हुँदा बिक्री हुन नसकेको हो ।’ रासस
